काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा एवम् कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सातौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

देशमा आमनागरिकको परिवर्तनको आवश्यकता, सशस्त्र संघर्ष, मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संविधानले संस्थागत गरेको बताए । 

 संविधानको सफल कार्यान्वयन गर्दै देशमा दिगो विकास, सुशासन र विकासको लक्ष्य हासिल गर्नुपर्ने उनले बताएका छन् । संविधान कार्यान्वयनका लागि आवश्यक नियमहरु बनाइदै लगिने विषयमा पनि प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाए । 

विश्वव्यापीरुपमा फैलिएको कोभिड -१९ महामारीको अवस्थामा नागरिकको जीवनरक्षाको प्रयास गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको ध्येय रहेको उल्लेख गरे ।

संविधानको कार्यान्वयनबाट नै सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सुशासन, प्रेस स्वतन्त्रता, न्याय र समानतामा आधारित समाज प्राप्त गर्न सकिने उल्लेख गर्दै प्राप्त उपलब्धिहरुको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताए ।