नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशनको प्रक्रियामा लागिरहँदा देशैभरि कांग्रेसको सरगर्मी बढ्दै गएको छ । अझ, मुलुककै कांग्रेसको गढ मानिने सुनसरीमा सरगर्मी नबढ्ने कुरा भएन । कांग्रेस सुनसरीका वर्तमान जिल्ला सचिव केदार भण्डारीले यसअघि नै जिल्ला सभापतिको दावेदारी गरिसकेका छन् । पार्टीको काममा दृढसंकल्पित भएर लाग्ने उनको बानीलाई जिल्लाभरि नै सबैले तारिफ गर्दै आएका छन् ।

हुनत पछिल्लो समय सुनसरी कांग्रेस सभापतिमा तीन–चार जनाको नाम सुनिँदै आइएको छ । तर त्यसमध्ये भण्डारी दाबेदार मानिन्छन् । किनकि उनी दुई कार्यकाल सुनसरी कांग्रेस सचिवको अनुभव संगालिसकेका व्यक्ति हुन् । हालसम्म वर्तमान सभापति राजीव कोइरालाको काँधमा काँध मिलाउँदै देशैभरमा सुनसरी जिल्लालाई गुटरहित जिल्लाका रूपमा चिनाउन भण्डारीलगायतको टिम सफल पनि भइरहेको छ ।

कार्यकर्तामाझ दौडाहामा लागेका भण्डारीको अहिले एउटै सोच छ पार्टीको जिल्ला सभापति हुने र पार्टीलाई अझ सशक्त रूपमा बलियो बनाएर अगाडि लैजाने । उनको चाहना पनि छ, दुई कार्यकाल सभापति रहँदा पनि सबैको मन–मस्तिष्कमा बस्न सफल कोइरालाकै लयमा चल्ने ।

‘मैले दुई पटक सचिव भई साथीभाइसँग सहयोग मागेर सभापतिमा इच्छा राख्नुको कारण भनेको पार्टीको नेतृत्व गरेर पार्टीलाई थप सहयोग गर्न हो’, उनी भन्छन्, ‘पार्टीगत रूपमा भन्नुपर्दा कांग्रेसको जति योगदान र महत्त्व छ । त्यो खस्केका कारण अघिल्लो संसदीय निर्वाचनमा प्रतिनिधिभा तथा प्रदेशसभामा ठूलो पराजय भोग्नुपर्यो । तर अब कांग्रेस नै आशा र भरोसाको केन्द्र हो ।’

कोइरालालाई देशकै १ नम्बर सभापति मान्ने भण्डारीले उनकै लयमा आफू पनि चल्ने बताएका छन् । त्यसबाहेक कांग्रेसलाई अझ बलियो बनाएर सुनसरीलाई कांग्रेसमय जिल्ला बनाउने, सदस्यलाई सङ्गठित कसरी बनाउने, आन्तरिक गुट कसरी कम गर्ने, गुट नबनाउनेलाई कस्तो भूमिका दिने, जिल्लामा बढेको अशान्ति र असुरक्षाका विषयमा कसरी अगाडि बढ्ने भन्नेजस्ता विषय आफूले उठान गर्न सक्ने भण्डारीको अडान छ । 

‘हाम्रो विधानअनुसार दुई कार्यकालभन्दा बढी सभापतिको रूपमा बस्न पाइँदैन तर यदि प्रावधानमा त्यो थिएन भने दाइ अझै पनि सभापतिमै सर्वस्विकार्य रूपमा दाइ नै रहनुहुन्थ्यो होला’, उनले थपे, ‘उहाँले दुई कार्यकाल प्रभावकारी तरिकाले बिताउनुभयो । राजीव कोइरालाको नेतृत्वमा भएको जिल्ला कार्यसमिति, जसको सचिव म पनि थिएँ । उहाँकै पछि रहेर काम गर्दा मैले धेरै कुरा सिकेको छु । म पनि उहाँकै लयमा चल्न चाहन्छु ।’

पछिल्लो समय पार्टी कमजोर बनेर गइरहेको बताउँदै उनले यसलाई सुधार्नका लागि आफू लागिपर्ने तथा पार्टी र जनताको सेवामा तल्लीन रहने बताए । ‘भ्रष्टाचारविरुद्ध खरो रूपमा प्रस्तुत हनेछु’, उनले भने, ‘अब कांग्रेसले जनता र संविधानको जिम्मा लिएर अगाडि बढ्नेछ, त्यसमा मेरो पनि भरपुर साथ रहन्छ । यस्तै शान्ति सुरक्षा कायम गर्न लागिपर्नेछु ।’ यस्तै, भण्डारी युवाहरूलाई राजनीतिको मूल धारमा ल्याएर उचित जिम्मेवारी दिन चाहन्छन् ।