विराटनगर -  नेकपा (एकीकृत समाजवादी) प्रदेश १ ले संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरेको भन्दै प्रदेशसभालाई जानकारी दिएको छ ।समाजवादी दलको तर्फबाट सावित्री कुमारी रेग्मीले प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीलाई दलको नेता चयन भएको पत्र सोमबार हस्तान्तरण गरेकी हुन् ।

शनिबार बसेको दलको बैठकले भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी आजै प्रदेशसभा सचिवालयलाई दिने तयारी गरेको थियो । सोही अनुसार जानकारी गराएको रेग्मीले बताइन् ।बैठकले अन्य गठबन्धन दलहरुसँग वार्ता गर्न संसदीय दलका नेता राजेन्द्र राई र सांसद राजन राईको नेतृत्वमा समिति निर्माण गरेको छ । विपक्षी गठबन्धनको सरकार निर्माण गर्ने विषयमा आवश्यक छलफल अघि बढाइने रेग्मीले बताइन् ।

उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ । बहुमतप्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकोले अब असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्छ ।

प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।