विराटनगर- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका १० जना प्रदेशसभा सदस्यलाई निर्वाचन आयोगले आज मान्यता दिएको छ ।

एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दोस्रो संशोधन अध्यादेश, २०७८ को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ दोस्रो संशोधन २०७८ को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि निर्वाचन कार्यालयमा सनाखत गरेका ती १० सदस्यका हकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दोस्रो संशोधन अध्यादेश, २०७८० को दफा ३३ ९२ (क) बमोजिम दल त्याग गरेको नमानिने भएको हो ।


प्रदेश १ प्रदेशसभा सदस्यहरु राजन राई, खिनु लङ्वा लिम्बू, पदम कुमारी गुरुङ, गणेशबहादुर काम्वाङ, सुनिताकुमारी चौधरी, साबित्राकुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे र राजेन्द्रकुमार राई नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

सांसदको सनाखत सदर भएपछि प्रदेश १ मा नयाँ सरकार निर्माणको बाटो खुलेको छ । प्रदेशसभामा अव एमालेका ४१, काँग्रेसका २१, माओवादी केन्द्रका १५, एकिकृत समाजवादीका १०, जनता समाजवादीका ३, सयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद भएका छन् ।