नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एक सय आठाैँ बिपी जयन्तीका अवसरमा बिपी सङ्ग्रहालय सुन्दरीजलमा बिहीबार आयोजित कार्यक्रममा प्रवक्ता शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रवक्ता शर्माले मुलुकको विकास र समृद्धिका लागि नेपाली काङ्ग्रेसले युवाको भावनालाई सम्बोधन गर्ने बताए । नेता शर्माले देशव्यापी रूपमा काङ्ग्रेसमा नयाँ जोस र उत्साह थपिएकोले बिपी कोइरालाको इच्छा पूरा गर्न यो उत्साहले थप सहयोग गर्ने उल्लेख गरे ।

बिपी कोइरालाले देश समृद्ध बनाउने हो भने तीन पटक लगातार काँग्रेसले जित्नुपर्छ भन्नुभएको स्मरण गर्दै शर्माले आफू महामन्त्रीमा निर्वाचित भए आमनिर्वाचनमा काङ्ग्रेसलाई लगातार तीन पटक जिताउन भूमिका खेल्ने बताए ।