काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी रोक्न एक देशको प्रयासले मात्र सम्भव नहुने बताएका छन् । प्रधानमन्त्रीले कोरोना भाइरस नियन्त्रण गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरबाट सबैको सहयोग र सहकार्य आवश्यक छ भने । 

विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसियाली राष्ट्रको ७४औँ क्षेत्रीय समिति बैठक शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परेको चर्चा गरे ।

हालको अवस्थामा दक्षिणपूर्वी एसियाली क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउन बैठकले महत्त्वपूर्ण निर्णय लिने बताउँदै प्रधानमन्त्री देउवाले मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नुपर्ने भन्दै स्वास्थ्य पहुँच नपुगेकालाई नेपालले प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री देउवाले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि दक्षिणपूर्वी एसियाली देशहरूबीच सहकार्य आवश्यक भएको बताए । कोरोना महामारीले मानिसको जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको बताउनुभयो ।