प्रदेश १ का १० सांसदले बुधबार (आज) माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने भएका छन् । एमालेका ५१ सांसदमध्ये १० जना सांसद आज दल रोज्नका लागि निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन जाने भएका हुन् । एमाले छाडेर नेकपा ‘एस’मा जान तयार भएका उनीहरू प्रदेश १ को निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन आज मध्याह्न १२ बजेतिर जान लागेको प्रदेशसभा सदस्य राजेन्द्र राईले जानकारी दिए । 

नेकपा एमाले माधव पक्षका १० सांसद दुई दिनयता धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेष्ट हाउसमा बसेका छन् । गेष्ट हाउसबाट निर्वाचन आयोगको कार्यालय मोरङमा आउनेछन् । सांसदलाई होटलमा लुकाएको भन्दै आलोचना भएपछि १० जना सांसद र समाजवादी पार्टीका अन्य नेताहरूको टोली सोमबार दिउँसो धरान पुगेका थियो ।

उनीहरूले मङ्गलबार नै सनाखत गर्ने तयारी गरेको भएपनि प्रदेश १ मा सार्वजनिक विदा परेकोले सनाखतको समय एक दिन धकेलिएको हो । बाग्मती र सुदूरपश्चिमा समाजवादी रोज्ने सांसदले मङ्गलबार नै सनाखत गरिसकेका छन् । यसअघि माधवकुमार नेपाल समूहमा रहेका सांसदहरूलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाएको छ । तर उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका बहुमत सांसदको उनले साथ नपाउने देखिएको छ । 

त्यसअघि नेपाल समूहमा आबद्ध भएका १८ सांसदमध्ये कम्तिमा १० जनाले समाजवादी रोज्दै सनाखत गर्ने पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए । सनाखतका लागि निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको भए पनि हामी आजै सनाखत गर्ने तयारीमा छौैँ,’ उनले भने ।

नेकपा एकीकृत समाजवादीमा निर्वाचन कार्यालयमा पुगेर सनाखत गराउने तयारीमा रहेका सांसदहरुमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् ।