नेपाली काँग्रेसको केन्द्र, जिल्ला र प्रदेश सभापति पदमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएको छ । काँग्रेसले आसन्न १४औँ महाधिवेशनमा हुने विभिन्न तहको निर्वाचनलाई लक्षित गरी जारी निर्वाचन निर्देशिका–२०७८ ले निर्वाचनसम्बन्धी सो व्यवस्था गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


उनका अनुसार सोअनुरूप ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले ल्याउन नसकेको अवस्थामा पहिलो र दोस्रो मत प्राप्त गरेका दुई उम्मेदवारबीच पुनः मतदान गराउनुपर्ने छ ।


यस्तै, पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको निर्वाचनका लागि पार्टीको केन्द्रीय कार्यसमितिले स्वीकृत गरी निर्वाचन निर्देशिका सार्वजनिक गरिएको हो ।


पार्टीले १४औँ महाधिवेशनको प्रयोजनका लागि केन्द्रीय सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको निर्वाचनका निमित्त छुट्टै मतपेटिका राखिने भएको छ । काँग्रेसको संशोधित विधानअनुसार यस पटक सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना निर्वाचनबाटै चयन हुने प्रावधान राखिएको छ ।


उपसभापति र महामन्त्रीमा मनोनित हुने विगतको प्रावधान हटाइएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा यस पटक कोषाध्यक्षमा मात्र मनोनित गर्ने प्रावधान छ ।