विराटनगर - प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा नेकपा एमालेको बहुमत रहेको बताए । मुख्यमन्त्रीबाट राजीनामा दिएपछि शुक्रबार प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश १ मा नेकपा एमालेको बहुमत रहेको बताएका हुन  । मुख्यमन्त्रीबाट बिहिबार राजीनामा दिएका राईकै प्रस्तावमा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बनेकाहुन ।


तर पार्टी विभाजन भइसकेको अवस्थामा बहुमत नपुग्ने प्रतिपक्षी दलहरुले बताइरहेका छन् । निवर्तमान मुख्यमन्त्री राईले प्रदेशमा नेकपा एमालेको एकल बहुमत रहेको  दाबी गरेकाहुन । पार्टी एकताका निम्ती आफूले पद त्याग गरेको भन्दै उनले साढे तीन वर्ष  सन्तोष जनक काम गरेको बताए । साढे तीन वर्षको कार्यकालमा प्रदेशको नाम राख्ने प्रयास गरेपनि नसकेको उनको भनाइ छ । प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै उनले यहीँ सरकारले विषेश अधिवेशन बोलाएर नाम टुङ्गो लगाउने उल्लेख गरे ।


पाँच वर्षका लागि निर्वाचित सरकार राजनीतिक परिवर्तनका कारण पुरा कार्यकाल काम गर्न नपाएको उनको भनाइ छ । ‘ हाम्रो तीन वर्ष ६ महिनाको कार्यकाल त्यतीकै बितेको छैन,’ राईले भने,‘ हर समय हाम्रो ध्यान र दृष्टि  प्रदेशको समग्र विकास र समृद्धिमा खर्च भएको छ ।’ प्रदेश सरकारले सुरु गरेका योजनाहरुको प्रतिफल केही वर्षपछि देखिने उनको भनाइ छ ।


उनले प्रदेश सरकारले निर्माण सुरु गरेका सडक पुल र विकासका अन्य कार्यक्रम निर्माणधिन अवस्थामा रहेको बताए । ‘थालेका कामहरु सम्पन्न हुँदै गर्दा  प्रदेशले विकासमा बेग्लै खालको उचाई प्राप्त गर्नेछ,’ राईले भने,‘ सडक, खानेपानी, सिचाई, शिक्षा स्वास्थ्यको क्षेत्रमा धेरै कामहरु भएका छन् ।’ नेकपा एमालेको सरकार परिवर्तन भए पनि आफ्नो नेतृत्वमा सरकार रहेका बेला सुरु भएका कामहरु निरन्तर चल्ने राईले बताए ।