विराटनगर-प्रदेश १ सरकारमा भीम आचार्य मुख्यमन्त्री भएको दोश्रो दिन शुक्रबार दुई मन्त्री थपिएका छन । माधवकुमार नेपाल समूहमा रहेका ताप्लेजुङबाट निर्वाचित बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका छन । 

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि माधव नेपाल समूहबाट मन्त्री बनाउनै पर्ने बाध्यताका कारण तत्कालै साम्सोहाङ र तिवारीलाई मन्त्री बनाइएको हो । 

निवर्तमान मुख्यमन्त्री शेरधन राईले संखुवसभाका तुलसी न्यौपानेलाई मन्त्री नियुक्त गर्न दबाब दिएका थिए । न्यौपानेलाई मन्त्री बनाउन एमाले अध्यक्ष ओलीले पनि निर्देशन दिएकोमा आचार्यले अस्वीकार गरेको एमालेका सांसदहरुले बताएका छन् ।


न्यौपानेसँगै उदयपुरका बिमल कार्की र मोरङका जीवन घिमिरेलाई पनि मन्त्री बनाउन आचार्यमाथि दबाब थियो । उनले भने अहिले नेपाल समूहमा रहेकाहरुलाई तानेर मन्त्री बनाउने प्रयास गरेका थिए । तर, अहिलेसम्म नेकपा एकीकृत समाजवादीमा जाने अनुमान गरिएका १० सांसद आचार्यको सम्पर्कमा पुगेनन् ।