धरान–धरान नागरिक दबाब सञ्जालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति, भ्रष्टाचार, मनपरीतन्त्रको छानबिन गरी सार्वजनिक समेत भएको वैकुण्ठ अर्याल समितिको प्रतिवेदन कार्यान्वयन हुन केही समय प्रतिक्षा गर्नुपर्ने निश्कर्ष निकालेको छ । सञ्जालको आइतवार बसेको बैठकको निर्णयमा उक्त कुरा उल्लेख गरिएको छ ।
धरानका मेयर तिलक राईको नेतृत्वमा काठमाण्डू गएको सञ्जाल सहितको सर्वदलिय, सर्वपक्षिय प्रतिनिधि मण्डलले समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकार तथा गठबन्धन दलका शिर्षस्थ नेताहरु संग गरेको पहल सकारात्मक रहेको ठहर सञ्जालले गरेको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई तथा स्वास्थ्य राज्यमन्त्री सहित मन्त्रीहरुसंग प्रतिनिधि मण्डलले धरानको मुख्य माग वीपी प्रतिष्ठानको सुधारका लागि वैकुण्ठ समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेको थियो ।
सञ्जालका संयोजक प्रध्यापक डा.राजेन्द्र शर्माले पाँच दिनको छोटो समयमा प्रतिनिधि मण्डलले प्रधानमन्त्री सहित सरकारका मन्त्रीहरु, शिर्षस्थ नेताहरुलाई भेटी वीपी प्रतिष्ठानको सुधारका साथै धरानका विकास निर्माणका विषयप्रति ध्यानाकर्षण गराउन सक्नु उपलव्धिपूर्ण मानिनुपर्ने धारणा वैठकमा राखेका थिए ।
प्रतिनिधि मण्डलमा सहभागी राजनीतिक दलका नेताहरु कांग्रेसका श्याम पोखरेल, एमालेका नारायण सुवेदी, माओवादीका चोत्लुङ, जनता समाजवादीका ताजुब लिम्बु, सञ्जालका हर्ष सुब्बाले काठमाण्डूमा गरिएका भेटघाटका बारेमा प्रकाश पारेका थिए । लिम्बुवानका सञ्जुहाङ पालुङवा, अग्रज व्यवसायी हिरा उदास, प्राध्यापक हरि दहाल, बुद्धिजीवि राजविमल श्रेष्ठ, अभियानकर्मी नरप्रसाद लिम्बुले प्रतिनिधि मण्डलको गतिविधि तथा वीपीमा अहिले पनि चलिरहेको चिकित्सक, प्राध्यापकहरुको आन्दोलनका बारेमा समीक्षात्क धारणा राखे ।
बैठकका सहभागीहरु नागरिक तथा चिकित्सक आन्दोलनको दबाब स्वरुप छानबिन समितिको प्रतिवेदन कार्यान्वय गर्न सरकार सकारात्मक देखिएकोले नयाँ सरकारको मन्त्री मण्डल विस्तारले पूर्णता पाएपछि परिणाम आउने निश्कर्षमा पुगेका छन् । वैठकको निर्णयमा भनिएको छ ‘प्रतिनिधि मण्डलले सकारात्मक पहल गरेका र त्यस्को परिणामाका लागि मन्त्री मण्डलले पूर्णता पाए सम्म प्रतिषा गर्नुपर्ने ठहर बैठकले गरेको छ ।’
प्रतिष्ठानमा अहिले सम्म आन्दोलित चिकित्सक, प्राध्यापकहरुका आन्दोलनका बारेमा बैकुण्ठ समितिको प्रतिवेदन अक्षरस कार्यान्वयन गर्न प्रतिष्ठान तथा सरकार संग अनुरोध गर्दै आन्दोलनकारी पक्षलाई सहयोग गर्न अनुरोध गर्दै सञ्जालको तर्फबाट विज्ञप्ती जारी गर्ने निर्णय गरिएको छ ।