विराटनगर– समयको माग अनुसार पछिल्लो अवस्थामा धार्मिक कानुन बदल्न आवस्यक रहेको धार्मिक अगुवाहरुले बताएका छन् । पण्डित दीनवन्धु पोखरेलले समयको माग अनुसार धार्मिक कानुन बदल्न अनिवार्य रहेको धारणा व्यक्त गरे । सत्य बोल्ने र क्षमा गर्ने भावना भएका व्यक्ति मात्र धार्मिक हुने भन्दै पण्डित पोखरेलले मानिस–मानिसबीच भेदभाव गर्ने व्यक्ति धार्मिक हुन नसक्ने बताए ।

प्रदेश १ का दुई दर्जन बढी सामाजिक संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको ‘धार्मिक दृष्टिकोणमा छुवाछूत’ विषयक भर्चूअल कार्यक्रममा पण्डीत पोखरेलले मनुस्मृतिलाई कानुन बुझेका कारण समस्या भइरहेको बताए । देशको संविधान संशोधन भए जस्तै धर्मको संविधान पनि संशोधन गरिनुपर्ने उनको धारणा थियो । जातको आधारमा गरिने विभेदलाई निर्मूल गर्न आफूले मन्दिरमा दलित पुजारी राख्न सुरु गरेको बताउँदै पण्डित पोखरेलले पाँचवर्ष भित्र हिन्दु धर्म भित्रको सबै किसिमको विभेद अन्त्य गराउने प्रतिवद्धता जनाए ।

नेपाल बौद्ध गुम्बाका अध्यक्ष महेन्द्रजङ लामाले बौद्व धर्मभित्र कुनै विभेद नरहेको बताउँदै समाजमा हुने मानिस मानिसबीचको विभेद अन्त्य गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । भगवान बुद्वले जातको आधारमा कहिल्यै विभेद नगरेको र त्यहाँबाटै बौद्व धर्मभित्र विभेद नरहेको बताउँदै उनले भने, ‘हाम्रो धर्ममा विभेद छैन । ’ ख्रिष्टीयन मण्डली महासंघ नेपालका महासचिव शुशिल भट्टले धर्ममा विभेद्को वाक्य नै नरहेको बताउँदै विभेद् गर्ने व्यक्तिलाई समाजले बहिस्कार गर्नुपर्ने बताए । ख्रिष्टीयन धर्मको नाममा केही व्यक्तिले विभेद वा गलत प्रचारगरेको पाइए कारबाही गर्न तयार रहेको उनले बताए ।

नेपाल मुस्लिम बुद्धिजीबी समाजका केन्द्रीय संयोजक शक्तिकुमार वंशकार (अब्दुल कवि)ले मुस्लिम धर्म मित्र कुनै विभेद नरहेको धारणा व्यक्त गर्दै सामाजिक विकास र सुधारको लागि धर्म बाधक हुन नहुने बताए । वर्षाैं अघिबनेको धार्मिक कानुनहरु समय अनुकुल रुपान्तरण गर्दै लगेमा मात्र समाजले धर्मलाई विश्वासगर्ने उनको बुझाई छ ।  कार्यक्रममा रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्मा, पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक न्याय मञ्चका अध्यक्ष डिबी साह शंकर, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल लगायतले बोलेका थिए ।