विराटनगर- नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा तोडफोड भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कमा हुने भनिएको बैठकस्थलमा बिहिबार बिहान ११ः३० बजेतिर तोडफोड भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन) पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आह्वान गरेको थियो ।

बैठक दिउँसो १ बजेतिर सुरु गर्ने तयारी थियो । तर त्यसअघि नै आएको एउटा समूहले तोडफोड र हुलदंगा मच्चाएको एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए । उनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ । उनले तोडफोडमा संलग्नको पहिचान गर्ने काम भइरहेको बताए ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा आवद्ध रहेकाहरुले तोडफोड गरेको हुनसक्ने एमाले संस्थापन पक्षको आरोप छ । तर नेपाल समूहका उर्लाबारी अध्यक्ष गंगा बास्तोलाले घटनामा संलग्नता अस्वीकार गरेकाछन । ‘हाम्रो समूहमा रहेका नेता कार्यकर्तालाई बैठकमा नजान यसअघि नै भनिसकिएको थियो,’ बास्तोलाले भने, ‘तोडफोडको जानकारी नभएको अवस्थामा बद्नाम गराउन सुनियोजित हिसाबले आरोप लगाइएको हुनसक्छ ।

’ प्रहरीले दिएको जानकारी अनुसार एमाले भातृ संगठन युवा संघमा आवद्ध कुमार लिम्बू, एलिन लिम्बूसमेतको समूहले घटना गराएको हो । घटनापछि फरार बनेका उनीहरुको खोजी प्रहरीले गरिरहेको छ । कुमार र एलिन भने नेपाल समूहमा आवद्ध रहेको बताइएको छ । बैठकस्थलको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तोडफोडपछि आन्तरिक व्यवस्थापन मिलाएर बैठक सञ्चालन गरिएको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोख्रेलले बताए । बैठकमा नेपाल समूहका कोही पनि उपस्थित भएनन् । एमालेको आन्तरिक विवाद समाधान नहुँदा पार्टीभित्रको अवस्था तनावग्रस्त बनेको बताइएको छ ।