विराटनगर-  प्रदेश १ प्रदेशसभा बजेट अधिवेशनको बुधबार बसेको बैठकमा सांसदहरुले समसामयिक मुद्दामा आवाज उठाएका छन् ।उनीहरुले शैक्षिक संस्थाहरु पुनः सञ्चालनमा आउनुपर्ने र कोरोना विरुद्धको खोपको पर्याप्त व्यवस्था हुनुपर्ने माग गर्दै आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

प्रदेश १ प्रदेशसभा बजेट अधिवेशनको बुधबार बसेको १९ औं बैठकको शुन्य समयमा बोल्दै प्रदेशसभा सदस्य सरिता थापाले कोभिड–१९ का कारण बन्द रहेका शैक्षिक संस्थाहरु पुनः सञ्चालन हुनुपर्ने बिषयमा जोड दिईन् । शहरी र सुविधा सम्पन्न भेगका विद्यार्थीहरुले अनलाईन कक्षा मार्फत पठनपाठन गरिरहेको भएपनि दुर्गम क्षेत्रका विद्यार्थीहरु शिक्षण सिकाईबाट बञ्चित हुँदै गएको उनको भनाइ थियो । यसले दुईखाले जनशक्ति उत्पादनको जोखिम बढ्दै गएको भन्दै उनले सरकारको ध्यानाकर्षण समेत माग गरिन् ।

बैठकको शुन्य समयमा बोल्नुहँुदै प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुले अब १८ वर्षमाथिका देशका चलायमान जनशक्तिबाट कोरोना विरुद्धको खोप लगाउने कार्यको सुरुवात गर्न सरकार समक्ष आग्रह गरिन् । उनले विद्यालय तथा क्याम्पसका विद्यार्थी, शिक्षक र कर्मचारी, राष्ट्रसेवक सुरक्षाकर्मी, उद्योगी तथा व्यापारी, मजदुर तथा श्रमिक, स्वास्थ्यकर्मी, निजी तथा सार्वजनिक सवारी चालक, स्वयंमसेविका, पत्रकार र विभिन्न संघसंस्थाका खटिएका व्यक्तिहरुका लागि पनि खोपको पर्याप्त व्यवस्था गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन ।

सांसदहरुले जनजीवन सामान्य बनाउँदै विद्यालय तथा क्याम्पसहरु पुनः सञ्चालनको व्यवस्था मिलाउनुपर्ने बिषयमा पनि जोड गरेका छन् ।