विराटनगर–  कोरोनाको दोश्रो लहरको प्रभावमा परेको प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक घट्दै गएको छ । गत चैत २० देखि कोरोनाको दोश्रो लहरको प्रभाव शुरु भएर स्थिती भयाभह भएपनि पछिल्लो समय संक्रमितको संख्या घटेसँगै कोरोना संक्रमितको उपचार गर्दै आएका अस्पतालहरुका बेडहरु पनि खाली हुँदै गएका छन् ।
एक महिना अघि सम्म संक्रमितको चाप बढेपनि पछिल्लो सातादेखि संक्रमितको संख्या घट्दै गएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताए । उनका अनुसार सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । विहिबार प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १३ हजार ७८३ रहेको छ । संक्रमण भएका मध्ये होमआईसोलेसनमा १३ हजार ३५० जना रहेका छन् । प्रदेशका कोभिड उपचार हुने अस्पतालमा अहिले ४३३ जना  उपचाररत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा मुख्यगरि ९ वटा अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गरिदै आईएको छ । मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगरका न्युरो, नोवेल, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, कोशी अस्पताल, सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापाको वीएण्डसी अस्पताल र धनकुटाको धनकुटा अस्पतालमा संक्रमितको उपचार हुने गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवै अस्पतालमा अहिले वेड खाली हुँदै गएका छन् ।
प्रदेश १ मा अस्पताल र आईसोलेसन सेन्टरहरु सहित २७ स्थानमा संक्रमितलाई राख्ने गरिएको छ । मन्त्रालयका अनुसार २७ स्थानमा १ हजार ५५९ वेडहरु रहेका छन् । १ हजार ५५९ मध्ये भेन्टिलेटर १५६, आईसियु ३०७, एचडियू ५६०, आईसोलेसन वेड २७९ र नर्मल वेड ४०४ वटा रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. निरौलाले जानकारी दिए ।
अस्पतालमा संक्रमितहरु आउन दर घट्दै गएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । उनका अनुसार अहिले संक्रमितहरुले सहजै वेड पाउने गरेका छन् । केही दिन अघिसम्म पीसीआर गरेका ६० प्रतिशत सम्मलाई कोरोना देखिने गरेपनि अहिले त्यसको अनुपात घटेको उनले बताए । डा. दासले भने,‘ अहिले पीसीआर गरेको कुल संख्याको १५ प्रतिशत हाराहारीमा संक्रमण देखिने गरेको छ ।’ अस्पतालमा कोरोनाको जटिल समस्या परेर आउने विरामीका लागि छुट्याएका वेडहरु पनि खाली हुँदै गएको उनले बताए । मेसु दासले भने,‘ जटिल समस्या भएका विरामी भए आईहाल्थे नी ।’

मोरङ बुढीगंगाको विराट मेडिकल कलेजमा आउने कोरोना संक्रमितका विरामीको संख्या आधाले घटेको अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवले बताए । उनका अनुसार विरामी राख्नका लागि आउने फोनको चाप घट्दै गएको देवले बताए । रेफरल अस्पतालका रुपमा रहेको विराटमा अहिले भर्नामा कुनै चाप नभएको उनले बताए । उनले भने,‘ कोभिडका वेडहरु अहिले खाली हुँदै गएका जादैछन ।’
प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अहिले ४७ वेड मात्र प्रयोगमा छन् । ९६ वेड रहेको सो अस्पतालमा ४९ वेडहरु खालि रहेको अस्पतालका फोकल पर्सन वैजनाथ साहले बताए । उनले भने,‘ पहिले ४० जना सम्म वेटिङमा हुन्थे, अहिले त्यो संख्या शुन्य भएको छ ।’ क्रमश वेडहरु खाली हुँदै गएको साहले बताए ।


प्रदेश १ को सवैभन्दा बढी कोरोना संक्रमण देखिएको विराटनगरमा पनि संक्रमितको संख्या घट्दै गएको छ । महानगर क्षेत्रमा अहिले ३ हजार ७९ जना सक्रिय संक्रमित रहेको महानगरपालिकाका कोभिड संयोजक हैदर अलिले बताए । दोश्रो लहर शुरु भए देखि विहीबार सम्म विराटनगरमा ९ हजार ८२० जना संक्रमित भएका र १३२ जनाको मृत्यु भएको अलिले बताए । अलिका अनुसार महानगरले दुई स्थानाम सञ्चालन गरेको आईसोलेसन सेन्टरमा अहिले ७ जनामात्र भर्ना छन् । ७६ वेड मध्ये अहिले ६९ वेड खाली रहेको कोभिड संयोजक अलिले बताए । कोरोना संक्रमितको संख्या अहिले घटेपनि ढुक्क हुने अवस्था नरहेको विज्ञहरुले बताएकाछन ।