विराटनगर -  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दावी अनुसार प्रधानमन्त्री बनाइए पञ्चायती निर्दलियता ब्युँतने दावी गरेकाछन ।

संवैधानिक इजलाशको आदेश अनुसार बिहीबार सर्वाेच्च अदालतलाई लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री ओलीले देउवासहितका १४६ निवर्तमान सांसदले माग गरे बमोजिम अदालतले फैसला दिने हो भने पञ्चायती व्यवस्थाझै निर्दलियता ब्युँतने जिकीर गरेकाछन ।प्रतिनिधि सभा विघटनको कारण सोध्दै सर्वाेच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री ओलीले सातौं दिन बिहीबार महान्यायाधिवक्ता कार्यालयमार्फत पठाइएको जवाफमा रिट निवेदकहरुको दावी संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीत रहेको दलील पेश गर्दै प्रधानमन्त्रीले दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई छैन भनेकाछन ।आफ्नो दलको नेताले प्रधानमन्त्रीका लागि दावी पेश गरेको अवस्थामा सोही दलका सांसदले विपक्षी दलको नेतालाई समर्थन गर्ने कार्य संसदीय प्रणालीमा कल्पना नै गर्न नसकिने तर्क उनले गरे ।

संविधानको धारा ७६ को उपधारा (५) वमोजिम प्रधानमन्त्री नियुक्तिको लागि दलीय निर्देशन लागु नहुने र यसमा ह्वीप जारी नहुने तर्कलाई संविधान विपरीत भन्दै ओलीले दलको निर्देशन विपरीत जानु भनेको दल त्यागको अवस्था हुने भएकाले त्यस्तो संसद सदस्यको पद नरहने ओलीको जिकीर छ ।