विराटनगर- प्रदेश १ मा पनि आजबाट कोरोना भाइरसविरुद्धको भेरोसिल खोप लगाउन थालिने भएको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोजमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक लाख ४० हजार पाँच सय पाँच डोज खोप प्रदेश १ का लागि उपलब्ध गराएको छ ।
६२ देखि ६४ वर्ष उमेर समूहकालाई दिइने खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यसबाहेक अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा चिकित्सक, चिकित्सा इन्टर्न विद्यार्थी, नर्स, पारामेडिक्स तथा जाँच, उपचार र हेरचाहमा खटिनेहरुलाई दिइने छ । त्यसका लागि सम्बन्धित संस्थामा कार्यरत रहँदाको परिचयपत्र अनिवार्य गरिएको छ । यसैबीच अक्सिजन उद्योगमा कार्यरत कामदारका लागि समेत भेरोसिल खोप लगाइने भएको छ । खोप प्राप्त गर्नका लागि सम्बन्धित उद्योगको परिचयपत्र ल्याउनुपर्ने छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेरोसिल खोप प्रदेश १ का १४ वटै जिल्लामा लगाउन सुरु गरिने बताइन ।
उनका अनुसार प्रदेशमा ७० हजार जनसंख्यालाई यो खोप दिने योजना बनाइएको छ । प्रदेशका १४ वटै जिल्लामा खोप पठाइसकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु साहले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै डोजका लागि उपलब्ध गराइएकोमध्ये ताप्लेजुङमा तीन हजार सात सय तीन, संखुवासभामा चार हजार चार सय, सोलुखुम्वुमा दुई हजार आठ सय पाँच, ओखलढुङ्गामा चार हजार दुई सय ९१, खोटाङमा चार हजार आठ सय ४८, भोजपुरमा चार हजार तीन सय ४७, धनकुटामा चार हजार आठ सय ५३, तेह्रथुममा दुई हजार आठ सय ४६, पाँचथरमा पाँच हजार पाँच सय ८१ डोज खोप पठाइएको साहले बताए । उनका अनुसार इलाममा आठ हजार आठ सय ६२, झापामा २६ हजार चार सय १९, मोरङमा ३१ हजार एक सय ८५, सुनसरीमा २६ एक हजार एक सय ३२, उदयपुरमा १० हजार एक सय ५१ डोज खोप उपलब्ध गराइएको छ ।
मन्त्री राईले कोरोनाविरुद्धको भेरोसिल खोप सरकारले निर्धारण गरेको मापदण्डभित्र पर्ने व्यक्तिहरुलाई मात्रै लगाउन निर्देशन दिएकीछन। उनका अनुसार प्रदेशभित्रका सबै जिल्लामा खोप पठाउँदै लगाउने केन्द्र पनि तय गरिसकिएको छ । यसैबीच प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाभित्र वडाअन्तर्गतका स्वास्थ्य संस्थाबाट खोप दिइने छ । त्यसका लागि सबै तयारी पूरा भइसकेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
कार्कीका अनुसार खोप प्राप्त गर्नका लागि २०१६ साल जेठ २५ गते अगाडि जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउन नागरिकलाई महानगरपालिकाले सूचित गरिसकेको छ । यसैगरी एक महिना अगाडि भेरोसिलको पहिलो डोज लगाएकाहरुले समेत खोप कार्ड लिएर आएको खण्डमा दोस्रो डोज लगाउन पाउने भएका छन् । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता मात्रै विराटनगरमा नौ हजार ३८ जनामा संक्रमण पुष्टि भइसकेको छ । कोरोनाका कारण विराटनगरमा एक सय १७ जनाको मृत्यु भइसकेको छ ।



