विराटनगर -  मोरङमा कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल प्रहरीका हवल्दार ४० वर्षीय वेदराज भण्डारीको निधन भएको छ । विराटनगर महानगरपालिका–३ घर भएका भण्डारीको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा बुधवार बिहान ९ बजेतिर निधन भएको हो ।

पहिलो पटक सङ्क्रमण जित्न सफल भए पनि उहाँले दोस्रो सङ्क्रमणसँग हारे । पीसीआर परीक्षण गराउँदा उनलाई दोस्रो पटक जेठ १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भोलिपल्ट उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो । नेपाल प्रहरीमा कार्यरत रहेकाको कोरोनाका कारण जिल्लामा पहिलो पटक मृत्यु भएको हो । भण्डारीको उपचारका क्रममा भेन्टिलेटरमा निधन भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार मृतकमा मधुमेहको पुरानै समस्या थियो । कोरोना नियन्त्रणमा अग्रमोर्चामा खटिँदै आएका भण्डारी नेपाल प्रहरीको सीआरभी पोस्ट कटहरीमा कार्यरत थिए । कटहरीमै कार्यरत रहँदा उनलाई पहिलो पटक जेठ ३ गते कोरोना देखिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराएपछि उनी पहिलो सङ्क्रमणबाट भने मुक्त भएकाथिए ।

उपचार सफल भएपछि उनी कोसीबाट जेठ १३ गते डिस्चार्ज पाएर घर फर्किए  । तर घरमै आराम गरिरहेका बेला पुनः कोरोनासँग मिल्ने लक्षण देखियो । त्यसपछि दोस्रो पटक परीक्षण गराउँदा जेठ १६ गते रिपोर्ट पोजिटिभ आएको डीएसपी राईको भनाइ छ । नियमित काम कारबाहीसँगै कोरोना नियन्त्रण र निषेधाज्ञाको पालनाका लागि अग्रमोर्चामा खटिनुपर्ने जिम्मेवारीका कारण सुरक्षाकर्मी सङ्क्रमणको उच्च जोखिममा रहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

एक हजार चार सयभन्दा बढी कार्यरत रहेको मोरङमा दुई इन्सपेक्टरसहित ४१ प्रहरीमा हालसम्म कोरोना पुष्टि भइसकेको छ । उपचाररत अरु संक्रमित प्रहरीको अवस्था सामान्य रहेको एसपी खड्काले बताए । कोरोनाबाट जोगिन र बच्नका लागि उच्च सावधानी अपनाउन सबैमा उनले आग्रह गरेकाछन।

मानव जीवनका लागि अत्यन्तै संकटपूर्ण अवस्था आएकाले सचेत भएर नियमको पालना गर्दै सावधानी अपनाउनुको विकल्प नहुने एसपी खड्काको भनाइ छ ।