विराटनगर–खोपको अभावको कारण जेष्ठ नागरिक र फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मीलाई नै खोप लगाउन समस्या भइरहेको बेला मन्त्रीको सिफारिसमा नीजि सिनेमा हलमा गोप्यरुपमा विराटनगरको सिटी सिनेमा हलभित्र एमाले कार्यकर्ता र उद्योगीलाई सुटुक्क शुक्रबार दिउसो खोप लगाइन थालेका सुइको पाएपछि स्थानियले खोप कार्यक्रम भाँडेका थिए । 

सामाजिक विकास मन्त्रालयको गाडीमा ल्याइएको ३०० सय डोज खोप मध्ये करिब दुई सय जनालाई लगाइसकेपछि स्थानियहरुले विरोध गरि खोप कार्यक्रम अवरोध गरेका थिए । विराटनगरको तीन पैनीमा रहेको उक्त सिनेमा हल नियमित खोप लगाउने खोप केन्द्र होइन । 

तीन सय डोज खोप लिएर पुगेको स्वास्थ्यकर्मीको टोलीले खोप लगाउन सुरु गरेपछि त्यो भन्दा बढी संख्यामा सोर्स आउन थालेपछि सिटी सिनेमाको मुल गेटमा ताला लगाएर स्तर हेरी मात्र भित्र प्रवेश गर्न दिइएको थियो । 

मन्त्रालयबाट खोप र स्वास्थ्यकर्मी लिएर गएको बा १ झ ९३६५ नम्बरको मन्त्रालयको खोप बोक्ने विवाद पछि स्थानियले १ घण्टा सिनेमाहलको प्राङ्गणमै रोकेर राख्दै बाकी रहेको खोप वडा कार्यालयमा दिन दबाब दिएका थिए । आक्रोस बढ्न थालेपछि प्रहरीले गााडी सहित स्वास्थ्यकर्मीलाई सुरक्षित निकालेको थियो । 

खोप लगाउने बारेमा आफुलाई केही जानकारी नभएको विराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले बताए । यस अघि पराजुलीलाई सुटुक्क उद्योगीलाई खोप लगाएको आरोप स्थानियले लगाएका थिए । 

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले सिटी सेनामा हलमा खोप कार्यक्रम रहेपनि महानगरलाई सोबारेमा कुनै जानकारी नभएको बताए । उनले भने,‘कसले कसका लागि खोप कार्यक्रम राखेको हो हामीलाई जानकारी छैन । मैलेपनि भखरै जानकारी पाए सिडियो साबलाई सोध्दा उहाँले पनि आफुलाई सो बारेमा केही जानकारी नभएको जानकारी गराउनुभएको छ । म यसबारेमा थप बुझ्दैछु।’

सामाजिक बिकास मन्त्री उषाकला राईले भने प्रदेश सरकार अन्तर्गतका मुख्यमन्त्री तथा मन्त्री परिषदका केही कर्मचारीसहित अन्य मन्त्रालयका दोश्रो डोजको खोप लगाउन छुटेका कर्मचारीका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले खोप लगाउने कार्यक्रम राखिएको संचारकर्मीलाई बताएकी छन । 

प्रत्यक्षदर्शीका अनुसार दोस्रो चरणको खोप लगाउन आउनेमा एमाले समर्थित विभिन्न कर्मचारी सङ्गठनका सदस्य तथा पदाधिकारी, एमाले कार्यकर्ता र केही छानिएका उद्योगपति-व्यापारी थिए । मन्त्री राईले १५-२० जना कर्मचारीका लागि मात्र भनेर दाबी गरको खोपका लागि ३ सय जनालाई खोप लगाउने कार्यक्रम तय भएको जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए ।

यता खोप प्राविधिक हरि घिमिरेले आफूलाई जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले सिटी सिनेमामा खोप दिन जानु भनेर आदेश गरेको हुँदा टिमसहित आएको बताए । उनले करिब १ सय ५० जनालाई खोप दिइएको जानकारी दिए ।