प्रदेश १ का १३७ वटा स्थानीय तह मध्ये कोरोनाका कारण सवैभन्दा बढी प्रभावित हो, विराटनगर महानगरपालिका । कोरोनाको दोश्रो लहर पछि जेठ १२ गतेसम्म  विराटनगरका ८६ जनाले ज्यान गुमाएका छन् ।  ६ हजार ९०६ जना संक्रमित भएका छन् । सक्रिय संक्रमित मात्र ५ हजार ६४९ जना छन् । ५ हजार ४५१ जना होमआईसोलेसनमा छन् । विराटनगरमा दैनिक २ सयको हाराहारीमा संक्रमित थपिने गरेका छन् । संक्रमित र संक्रमणबाट हुने मृत्युको संख्या बढ्दो अवस्था छ । विराटनगर महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि कसरी काम गरिरहेको छ लगायतबारे महानगर प्रमुख भीम पराजुलीसँग खबरपलपलका लागि उमा थापाले गरेको कुराकानीको सारसंक्षेप :–

 

सवाल-कोरोना संक्रमण नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले के कस्ता पहल गरिरहेको छ ?

जवाफ-कोरोना संक्रमणको दोश्रो लहर शुरु भएलगत्तै देखि विराटनगर महानगरपालिका कोरोना संक्रमण नियन्त्रण अभियानमा छ । संक्रमण नियन्त्रणका लागि सिमा नाका चेकजाँच, संक्रमणको अनुसंधान, कन्ट्रयाक ट्रेसिङ, जेष्ठ नागरिक , सुत्केरीहरुको घरमै गएर स्वाब संकलन, एसएमएसबाट पीसीआर रिपोर्टको प्रवन्ध, निशुल्क एम्वुलेन्स सेवा महानगरले उपलब्ध गराएको छ । महानगरपालिका क्षेत्र भित्र अहिले ५ वटा गाडी विरामीलाई घरबाट अस्पताल लैजाने र अस्पतालबाट ल्याउने काममा प्रयोग भईरहेका छन् । मैले आफुले प्रयोग गर्दै आएको गाडी पनि संक्रमितका ओसार-पसारका लागि प्रयोगमा ल्याएको छु ।नेपाली काग्रैसका नगर सभापति अरुण न्यौपानेले पनि आफु चड्ने गाडी संक्रमितका ओसार-पसारका लागि दिनुभएको छ । प्रसुतीका लागि निशुलक एम्वुलेन्स सेवाको प्रवन्ध गरिएको छ । शव व्यवस्थापनका नि ः शुल्क शववहानको व्यवस्थापन गरिएको छ । विराटनगरका यूवासाथीहरु यसमा संलग्न हुनुभएको छ । उहाहरु सक्रिय रुपमा निस्वार्थ भावनाले सेवामा दिनरात खटिरहनु भएको छ ।

 

कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका सवै अस्पतासँग समन्वयकारी भूमिका महानगरले निर्वाह गरिरहेको छ । विराटनगर १९ मा २५ वेडको आईसोलेसन र अक्सिजन अभावले विराटनगरका नागरीकको ज्यान जान नदिने उधेश्यले विराटनगर १ मा आरआरएनको भवनमा ५१ वेडको अक्सिजन सहितको आईसोलेसन सेन्टर सञ्चालनमा ल्याईएको छ । शव व्यवस्थापनमा खटिने र स्वास्थ्यकर्मीका लागि मारवाडी सेवा सदन विराटनगरमा आईसोलेसन सेन्टर बनाएका छौं । संक्रमितको घरमा निर्मलीकरण गर्ने काम पनि महानगरले गरिरहेको छ । विशेषज्ञ चिकित्सकको टिम बनाएर चिकित्सकीय परामर्श दिन पनि काम पनि भईरहेको छ ।  चिकित्सकको टिमले स्वास्थ्य सावधानी अपनाउनका लागि सल्लाह दिने काम गरिरहेको छ । म आफु पनि अहोरात्र खटेको छु । कोही विरामीका आफन्त छैनन उनीहरुका लागि म आफै खटेर काम गरिरहेको छु । मलाई डेढ, दुई महिनादेखि निन्द्रा, भोक लाग्नै छाडेको छ । निरन्तर नगरबासीको सेवामा छु । आराम मैले गरेको छैन । नगरवासीको सेवाबाट मलाई आर्शिवाद मिलेको छ । यसले मलाई काम गर्ने उर्जा मिलेको छ । दैनिक संक्रमण बढेको अवस्था छ । मृत्युदर पनि बढीरहेकै छ । निषेधाज्ञा र जनस्वास्थ्यको मापदण्ड पालना गर्नका लागि पनि म नगरवासीलाई आग्रह गर्दछु । अब एक महिना हामीले संयमता अपनायौ भने हामी सुरक्षित रहन्छौ । छिमेकी कोही संक्रमित भएकाछन भने आफ्नो ठाउबाट सबैले सहयोग गरौ ।एक अर्काप्रती सहयोगी भावना राखौ ।मिठो बोलेर हुन्छकी ,केही खाने कुरा दिएर हुन्छ की सबैले संक्रमीतप्रती असल ब्यवहार गरौ ।आत्मवल बढाउन सहयोग गरौ ।

 

सवाल-घर-घरमा अक्सिजन सिलिण्डर लगेर राजनीति गरियो भन्ने आरोप छ नी ?

जवाफ-जो कोरोना संक्रमणको पीडामा छ । यो कुरा उसले मात्र बुझ्छ । अस्पतालमा वेडको पाएको छैन । चिकित्सकीय सेवा पाईरहेको छैन । यस्ताका लागि अक्सिजन प्राण बायु हुने रैछ । यो एउटा पुन्यको काम रहेछ । यसमा कुनै राजनीति गरिएको हैन, सेवा गरिएको हो । मैले कतै प्रचार गरेको पनि छैन । मेडिकल टिमले दिएको सल्लाह अनुसार घरमा लगेर अक्सिजन सिलिण्डर दिने गरिन्छ । वेड नपाएको अवस्थामा समस्या भएकालाई अक्सिजन दिने गरिएको हो । यो सेवा हो, राजनीति हैन ।यदी मैले मेरा नगरवासीको ज्यान बचाउन अक्सीजन घरमा लगेर दिने गरेको विषयलाई राजनिति भनिन्छ भने ति ब्यक्तीले राजनिति गरुन ।दुईचार जनाको ज्यान बचाउन लागुन मेरो अनुरोध छ ।

 

सवाल-संघीय र प्रदेश सरकारसँग कस्तो समन्वय छ ?

जवाफ-प्रदेश स्तरिय र जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र ( पीसीसीएमसी र डिसीसीएमसी) मा हाम्रो छलफल हुने गरेको छ । यस्ता छलफलमा मैले खोपको व्यवस्थाको कुराहरु उठाउने गरेको छु ।  कोभिड १९ विरुद्धको पहिलो डोज खोप लगाएकाले दोश्रो डोज पाउन सकेका छैनन । उनीहरुको दोश्रो डोज लगाउने समय भईसकेको छ । खोपका बारेमा मलैले निरन्तर भन्दै आउको छु । सरकारले खोप किन्न सक्दैन भने हामीलाई अवसर दिनका लागि पनि भन्ने गरेको छु । हामी खोप किन्न तयार छौं । सरकारले खोप खरिद पनि नगर्ने र स्थानीय तथा निजी क्षेत्रलाई नदिने पनि गर्नु भएन । खोप लगायो भने पनि निमोनिया नहुने र मृत्युदर पनि कम हुने विज्ञहरुले बताउँदै आएका छन् । त्यसकारण पनि खोपमा हाम्रो जोड छ । विकास निर्माणलाई थाति राखौं, खोपको व्यवस्था पहिले गरौं । सवै वजेट खोपमा लगाउनका लागि हामी तयार छौं । निजी क्षेत्रलाई पनि खरिदको अनुमति होस् । महानगरपालिका पनि खोप खरिदका लागि तयार छ ।जसको पहुच पुग्च उसले किनेर खोप लगाउछ नसक्नेलाई महानगरले किनेर लगाउछ तर अनुमती दिनुपर्यो सरकारले।

 

सवाल-आईसीयु र भेन्टिलेटरमा संक्रमितको पहुँच कस्तो छ ?

जवाफ-कोरोना संक्रमित भएकाहरुलाई सजिलै वेड उपलब्ध गराउने गरि यसको टिम बनाएका छौं । टिमले विराटनगरका कुन अस्पतालमा कति वेड खाली छ । यसको रेकर्ड दैनिक लिन्छ । यसैका आधारमा संक्रमितलाई भर्ना गराउन सजिलो भएको छ । महानगरले भर्खर कोशी अस्पतालमा कोभिडका विरामीको उपचार गर्नेगरि ६२ वेड शुरु गरेका छौं । महानगरकै पहलमा यो काम भएको छ । ५ वटा आईसियु, २५ वटा एचडियु र बाँकी अक्सिजन सहितको वेडको  व्यवस्था गरिएको छ । यसका साथै महानगरपालिकाले एउटा प्रोटोकल बनाएको छ । सो प्रोटोकल अनुसार होम आईसोलेसनमा रहेकालाई अक्सिजनको आवस्यकता परे घरमै गएर पनि सेवा दिईरहेका छौं । महानगरका कोभिड फोकलपर्सन हैदर अलि हुनुन्छ उहाले संक्रमितहरुको लागी चाहिने आवश्यकता अनुसार सबै किसिमका  काम गरीरहनु भएको छ ।

 

 

सवाल-सिमा क्षेत्रको देखिएको जोखिम व्यवस्थापनका लागि के भईरहेको  ?

जवाफ-सिमा क्षेत्रमा चुनौति छ । डिसीसीएमीसीमा कुरा उठाएको छु । सिमा क्षेत्रबाट प्रवेश हुनेहरुको अनिवार्य एन्टीजेन परीक्षण होस् भनेर मैले भनेको छु । अनाधिकृत प्रवेशलाई रोकियोस् । खुल्ला सिमानाका कारण चोरबाटो हुँदै नेपाल प्रवेश गर्नेहरु पनि छन् । भारतमा जति संक्रमणम बढ्छ । हाम्रामा पनि सोही अनुसार बढ्ने गरेको छ । परीक्षण गरेर मात्र प्रवेश दिईनुपर्छ । परीक्षण नगरी प्रवेश भए विराटनगरमा संक्रमण नियन्त्रणमा समस्या हुने हामीले भन्दै आएका छौं । महामारी नियन्त्रणका लागि सिमामा कडाई हुनुपर्‍यो । सिमामा कडाई भएन भने विराटनगरमा संक्रमण रोक्न समस्या छ । यो कुरा मैले पहिलेदेखि नै भन्दै पनि आएको छु । दोश्रो लहर शुरु हुनेवित्तिकै सिमामा नियन्त्रण गर्न सकेको भए, संक्रमण यत्रो धेरै फैलने पनि थिएन ।यति धेरै समस्या आउने पनि थिएन । 

 

सवाल-निरन्तरको निषेधाज्ञाका कारण संकटमा परेकाहरुलाई खाध्यान्नको व्यवस्था गर्न उच्च अदालतले पनि आदेश दिएको अवस्था छ । यसमा महानगरको तयारी के छ ?

जवाफ-संकटमा परेकाहरुलाई खाध्यान्नको व्यवस्थाका लागि जनप्रतिनिधिवीच छलफल भईरहेको छ । सहयोगी संस्थाहरुसँग पनि निरन्तर छलफल गरिरहेका छौं । सहयोगी संस्थाहरुले निशुल्क खानाको प्रवन्ध पनि गरिरहनु भएको छ । उहाँहरुले महानगरसँग समन्वय गरेर पनि काम गरिरहनु भएको छ । कोरोनाको पहिलो लहर जस्तो भोकमरीको समस्या नहोस् भनेर निर्माण कार्य र उद्योग क्षेत्रको काम हामीले रोकेका छैनौं । तत्काल राहतका लागि आवस्यक परि गएको अवस्था छैन । समस्या देखिएको अवस्थामा राहतका लागि महानगरले आवस्यक कार्य अघि बढाउने छ । त्यसका लागी मैले १९ वटै वडाका वडाध्यक्षहरु संग समन्वय गरीरहेको छु ।