विराटनगर-  विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँचसहित मोरङमा कोरोना भाइरस सङ्क्रमित १० जनाको एकै बिहान मृत्यु भएको छ । कोरोना संक्रमित चार महिला र छ जना पुरुषको विभिन्न चारवटा अस्पतालमा उपचारका क्रममा आज बिहानभरमा ज्यान गएको हो ।

विराटनगरको कोसी अस्पताल कोभिड उपचार युनिट र मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई÷दुई, विराटनगरकै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक तथा नोबेल शिक्षण अस्पतालमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये मोरङका मात्रै छ जना रहेका छन् । तीमध्ये चार जना विराटनगर र केराबारी तथा मिक्लाजुङका एक÷एक जना हुन् । कोसी अस्पतालको कोभिड उपचार युनिटमा विराटनगर महानगरपालिका–१० का ६५ वर्षीय वृद्ध पुरुषको बिहान ५ बजेतिर मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार वृद्धलाई उपचारका लागि जेठ ६ गते भर्ना गरिएको थियो । त्यस्तै सुनसरीको बर्जु गाउँपालिका–४ की ७० वर्षीया वृद्धा महिलाको पनि कोसीमै मृत्यु भएको छ ।

जेठ ८ गते उपचारका लागि भर्ना गरिएकी वृद्धाको उपचारका क्रममा बिहान ४ बजेतिर मृत्यु भएको जानकारी डा. दासले दिए । विराट शिक्षण अस्पतालमा विराटनगर–६ की ४८ वर्षीया महिलाको बिहान ५ः३५ बजेतिर मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार परीक्षण गराउँदा संक्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि जेठ ३ गते भर्ना गरिएको थियो । सुनसरीको गढी गाउँपालिका–३ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहानका लागि १२ः२० बजेतिर मृत्यु भएको जानकारी देवले दिए । उनका अनुसार वृद्धलाई उपचारका लागि जेठ १० गते अस्पताल भर्ना गरिएको थियो । कोसी अस्पतालकै कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–३ की ५६ वर्षीया महिलाको बिहान ४ः४० बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएकी महिलालाई जेठ ५ गते उपचारका लागि भर्ना गरिएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

नोबेलमा विराटनगर–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचारका लागि जेठ ४ गते भर्ना गरिएका पुरुषको बिहानका राति १२ः१५ बजेतिर मृत्यु भएको हो । मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ६० वर्षीय पुरुषको बिहान ८ः१५ बजेतिर मृत्यु भएको छ । उनलाई पनि उपचारका लागि जेठ ४ गते नै भर्ना गरिएको थियो । दाहालका अनुसार मोरङको केराबारी गाउँपालिका–७ का ८४ वर्षीया वृद्धा महिलाको बिहान ५ः३० बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएकी वृद्धालाई उपचारका लागि हिजो भर्ना गरिएको थियो । उपचार सुरु गरिएको २४ घण्टा पनि बित्न नपाउँदै वृद्धाको मृत्यु भयो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ५५ वर्षीय पुरुषको बिहानका लागि १ः३० बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ १० गते अस्पताल भर्ना गरिएको जानकारी दाहालले दिए । उनका अनुसार सप्तरी घर भएका ३४ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २७ गते अस्पताल भर्ना गरिएको दाहालले बताए । उपचाररत पुरुषको बिहान ५ बजेतिर मृत्यु भएको हो ।