विराटनगर-  कोरोना भाइरस सङ्क्रमणका कारण विराटनगरका बासिन्दा पूर्वराज्यमन्त्री ९१ वर्षीय राधाप्रसाद घिमिरेको निधन भएको छ । कोरोना पुष्टि भएको केही बेरमै विराटनगर महानगरपालिका–२ का घिमिरेको गयराति ९ बजेतिर निधन भएको हो । उहाँलाई केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

थप अस्वस्थ्य बनेपछि पीसीआर परीक्षण गराउँदा हिजोसाँझ घिमिरेलाई कोरोनाको सङ्क्रमण रहेको पत्ता लागेको हो । नागरिक अगुवा रामबाबु दाहालका अनुसार कोरोना सङ्क्रमण यकिन भइसकेपछि उपचारका लागि नोबेल शिक्षण अस्पताल लैजाँदै गर्दा बाटैमा पूर्वराज्यमन्त्री घिमिरेको निधन भएको हो । घिमिरेले पञ्चायत कालमा नौवटा मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्हेकाथिए । २०३२ सालमा तत्कालीन राजा स्वः वीरेन्द्र शाहले उनलाई पहिलो पटक सूचना तथा सञ्चार राज्यमन्त्री बनाएको दाहालले बताए ।

त्यसपछि अढाई वर्षको अवधिमा सूचना तथा सञ्चार, सामान्य प्रशासन, उद्योगसमेतका नौवटा मन्त्रालयमा क्याविनेटस्तरको राज्यमन्त्रीको भूमिकामा घिमिरे रहेको उनको भनाइ छ । २०१७ सालसम्म कम्युनिष्ट पार्टीमा आवद्ध रहनु भएका उनले नै मोहनविक्रम सिंहलाई पार्टी सदस्यता प्रदान गरेको दाहालले बताए । उनका अनुसार पञ्चायती व्यवस्था सुरु भएपछि कम्युनिष्ट पार्टीमा केन्द्रीय सदस्य रहनु भएका घिमिरे पार्टी परित्याग गर्दै पञ्चायतमा प्रवेश गरेकाथिए । उमेरले नेटो काट्दै गएपछि राजनैतिक जीवनलाई उनले निरन्तरता दिनसकेनन्। 

तर सामाजिक र वौद्धिक क्षेत्रमा घिमिरेको सक्रियता कायमै रहेको एलिट क्लबका महासचिव एवं वरिष्ठ पत्रकार यज्ञ शर्माले बताए । घिमिरे विराटनगरमा २०१५ सालमा स्थापना भएको एलिट क्लबका संस्थापक रहेकाथिए । क्लबका महासचिव शर्माका अनुसार एलिट क्लब समाजका सबै पेसा र विचार भएका वौद्धिक व्यक्तिआवद्ध साझा संस्था हो । १० जना संस्थापकमध्ये तीन जना जीवित रहेकोमा घिमिरेको कोरोनाका कारण निधन भएको उनले बताए ।

पूर्वराज्यमन्त्री घिमिरेको निधनले वौद्धिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको वरिष्ठ पत्रकार शर्माको भनाइ छ । उनका जेठो छोरा पारस घिमिरे नेपालबाट म्यानमारका लागि पूर्वराजदूत रहेकाछन। यसअघि नै श्रीमती गुमाएका घिमिरेका तीनमध्ये कान्छो छोराको पनि निधन भइसकेको छ ।