विराटनगर- मोरङमा पछिल्लो २० घण्टाभित्र थप १५ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चार जनाको मृत्यु होम आइसोलेसनमा भयो । ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । हिजोसाँझदेखि आज दिउँसोसम्ममा १५ जना सङ्क्रमितको मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–१३ की ५३ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । आज दिउँसो २ः३५ बजेतिर ज्यान गुमाएकी उनलाई जेठ १ गते कोरोना सङ्क्रमण पुष्टि भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए। विराटनगर–१४ का ६२ वर्षीय पुरुषको पनि दिउँसो होम आइसोलेसनमा मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा वैशाख २९ गते रिपोर्ट पोजिटिभ आएका उनको दिउँसो २ बजेतिर मृत्यु भएको हो ।
महानगरपालिकाका अनुसार विराटनगर–१७ की ५३ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । वैशाख ३१ गते कोरोना पुष्टि भएकी उनको हिजोसाँझ ७ः३५ बजेतिर मृत्यु भएको हो । मोरङको रङ्गेली नगरपालिका–७ का ५० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । कोरोना पुष्टि भएर घरमै बसेका उनको हिजोसाँझ ७ बजेतिर मृत्यु भएको हो । मोरङको बूढीगङ्गा गाउँपालिका–१ का ७५ वर्षीय पुरुषको गय राति ९ः१० बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख २९ गते कोरोना पुष्टि भएको थियो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार सङ्क्रमितको मृत्यु भएको छ । सर्लाहीका ३० वर्षीय पुरुषको आज बिहान २ः२० बजेतिर मृत्यु भएको हो ।
उनलाई उपचारका लागि वैशाख ३० गते भर्ना गरिएको थियो । वैशाख २९ गते भर्ना गरिएका सुनसरीको हरिनगरा–५ का ७० वर्षीय पुरुषको दिउँसो १२ः३० बजेतिर मृत्यु भएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार हिजो उपचारका लागि भर्ना गरिएकी विराटनगर–१५ की ५८ वर्षीया महिलाको बिहान ७ः३० बजेतिर मृत्यु भएको छ । विराटनगर–४ का ५४ वर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ २ गते भर्ना गरिएको दाहालले बताए । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ ।
उपचारका लागि वैशाख २७ गते भर्ना गरिएका विराटनगर–१३ का ५५ वर्षीय पुरुषको दिउँसो १२ः५ बजेतिर मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले बताए । उनका अनुसार सप्तरीको सप्तकोसी नगरपालिका–८ की ४० वर्षीया महिलाको बिहान ४ बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २६ गते भर्ना गरिएको थियो । उपचारका लागि वैशाख २९ गते भर्ना गरिएका विराटनगर–१६ का ७८ वर्षीय पुरुषको बिहानका राति १ बजेतिर विराटमै मृत्यु भएको छ ।
विराटनगरको न्युरो अस्पतालमा विराटनगर–१७ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको मृत्यु सोमबार राति ८ः३० बजेतिर भएको अस्पतालले जनाएको छ । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार उपचारका लागि वैशाख ३० गते भर्ना गरिएका धनुषाको जनकपुरका ६१ वर्षीय पुरुषको बिहान ५ः३० बजेतिर मृत्यु भएको हो ।
उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएका मोरङको रंगेली नगरपालिका–५ का ४७ वर्षीय पुरुषको दिउँसो १२ः४५ बजेतिर मृत्यु भएको राजवंशीले बताए। उनका अनुसार उपचारका लागि जेठ २ गते भर्ना गरिएका सप्तरीको राजविराजका ३५ वर्षीय पुरुषको पनि दिउँसो १२ः३० बजेतिर मृत्यु भएको हो।



