विराटनगर- राजधानीमा अक्सिजनको कमि भएको र त्यहाका अक्सिजन प्लान्टमा खाली सिलिण्डरको भिड लागेपछि नेपाली सेनाको जहाजले खाली सिलिण्डर विराटनगर एयारपोर्ट सम्म ल्याउने र सुनसरी मोरङमा रहेका अक्सिजन प्लान्टबाट अक्सिजन भरेर राजधानी लान थालेको छ ।
नेपाली सेनाले बैशाक २९ गतेबाट त्यसरी अक्सिजन सिलिण्डर भरेर राजधानी लान थालेको हो । पहिलो पटक संखुवासभाबाट संकलन गरिएका १ सय ५० थान अक्सिजन सिलिण्डर सुनसरीको हिमाल, मारुती र दुर्गा अक्सिजन प्लान्टमा भरेर ट्रक मार्फत राजधानी पठाइएको थियो ।
त्यसैगरि बैशाक ३० गते विराटनगर अवतरण भएको नेपाली सेनाको जहाजले ६० वटा खाली सिलिण्डर विराटनगर एयरपोर्टमा ल्याएको थियो । एयरपोर्टबाट खाली सिलिण्डर ट्रकमा विनायक अक्सिजन प्लान्टमा भरेर भैरव गण मोरङले राजधानी पठाएको थियो ।
३१ बैशाकमा कृष्णदल गणले जहाजबाट आएका ६० वटा अक्सिजन सिलिण्डर सुनसरीको पाथीभरा अक्सिजन प्लान्टमा भरेर राजधानी पठाएको थियो । त्यस्तै जेठ १ गते ६० वटा सिलिण्डर भरेर सेनाको जहाज मार्फत भैरहवा लगिएको सैनिक स्रोतले बतायो । २ गते ६० वटा र ३ गते १ सय ८० वटा खाली सिलिण्डर ल्याएर भरेर लगेको छ । जेठ ४ गते विहान ६० वटा अक्सिजन सिलिण्डर राजधानी लगेको स्रोतले बताएको छ ।
जहाजबाट धमाधम सिलिण्डर राजधानी गएरहेको खबर बारे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्काले त्यसको पुष्टि गर्दै प्रदेश १ मा राजधानीबाट आएका खाली सिलिण्डर भरेर पठाउने काम भइरहेको तर प्रदेश १ मा रहेका सिलिण्डर भने राजधानी नलगिएको बताए । उनलेभने‘अहिले देशका विभिन्न भागमा प्रदेश १ ले अक्सिजन भरेर पठाईरहेको छ ।’



