विराटनगर- सात महिनाकी गर्भवती रहनु भएकी सप्तरीको सप्तकोसी नगरपालिकाकी उप–प्रमुख आशा चौधरीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ ।
उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आज बिहान ४ः१२ बजेतिर ४० वर्षीया चौधरीको निधन भएको हो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार सात महिनाकी गर्भवती चौधरीको पेटबाट तीन दिनअघि बच्चा बाहिर निकालिएको थियो ।
पेटमा भएको बच्चाका कारण स्वास्थ्यमा थप समस्या भएपछि बाहिर निकाल्नु परेको उनको भनाइ छ । बच्चा बाहिर निकालेर बचाउन धेरै प्रयास गरिए पनि सफल हुन नसकिएको देवको भनाइ छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको हो ।
आईसीयूमा उपचाररत चौधरीको अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारकै क्रममा भेन्टिलेटरमा उनको निधन भएको हो । चौधरीका पति र ७ वर्षीय छोरा रहेकाछन ।



