विराटनगर-नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट संक्रमित भएका सञ्चारकर्मीलाई घरमै चिकित्सक सहितको टोली पुर्‍याएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । दोस्रो चरणको कोरोना भेरियन्ट आएपछि जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी संक्रमित भएका बेलामा संक्रमित भएर होम आइसोलेसनमा बसेका संचारकर्मीलाई घरमा गएर स्वास्थ्य सेवा दिने निणर्य प्रेस युनियनले गरेको हो । ।


कोरोनाबाट संक्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टर, नर्स सहितको निःशुल्क स्वास्थ्य सेवा दिने अभियान सुरु गर्ने प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । कोरोनाबाट संक्रमित १२ जना सुनसरीका पत्रकार कोही अस्पतालमा छन भने कोही घरमै आइसोलेट भएर बसेका छन । 


संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श गर्ने र आवश्यक औषधोपचार गर्ने गरी डा. अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीसंग प्रेस युनियन बीच सहमित भएको अध्यक्ष अधिकारीले बताए । 


घरमै गएर सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुनुका साथै संक्रमण मुक्त हुनका लागि सहज हुने छ । युनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरिएको थियो । बीमा गरिएका मध्ये ३० जनालाई जनही एकलाखका दरले रकम समेत वितरण गरि सकेको छ । 


त्यसैगरी इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले नेतृत्व गरेर निर्माण गरेको आइसोलेसनमा प्रेस युनियन सहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीका लागि अक्सिजन सहितको निःशुल्क सेवा दिने तयारी गरिएको छ ।