विराटनगर- मोरङका विभिन्न अस्पतालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमित १२ जनाको मृत्यु भएको छ । उपचारका क्रममा चार महिला र आठ जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँच जना वृद्धवृद्धा र चार जना ३५ वर्ष मुनिका छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा हिजो दिउँसो ३ बजेदेखि आज बिहानका राति १ बजेसम्ममा सात जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
नोबेलमा छोटो समयमै यति धेरै सङ्क्रमितको मृत्यु भएको यो नै पहिलो हो । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया वृद्धा महिलाको बिहान १ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २३ गते भर्ना गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर बन्दै गएकी वृद्धालाई उपचार जारी राखिएको भए पनि बचाउन सकिएन ।
विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको राति ११ः३० बजेतिर मृत्यु भएको छ । दाहालका अनुसार पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएका उनलाई उपचारका लागि हिजो दिउँसो मात्रै अस्पताल भर्ना गरिएको थियो । उदयपुरको बेलटारका ५६ वर्षीय पुरुषको राति १०ः५६ बजेतिर नोबेलमै मृत्यु भएको जानकारी दाहालले दिनु भयो । उनका अनुसार मृतकलाई उपचारका लागि वैशाख २६ गते ल्याइएको थियो । विराटनगर–४ का ५२ वर्षीय पुरुषको राति १०ः२५ बजेतिर मृत्यु भएको प्रबन्धक दाहालले बताए। उनका अनुसार उपचारका लागि वैशाख ३१ गते भर्ना गरिएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया वृद्धा महिलाको हिजो दिउँसो ४ः१५ बजेतिर मृत्यु भएको छ ।
नोबेलमै उपचारका क्रममा मृत्युवरण गरेकी उनलाई वैशाख २७ गते अस्पताल भर्ना गरिएको दाहालले बताए। सिरहाका ६९ वर्षीय पुरुषको दिउँसो ४ः३० बजेतिर मृत्यु भएको छ । नोबेलमै उपचारका क्रममा उनको मत्यु गएको हो । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख ३१ गते भर्ना गरिएको थियो । प्रबन्धक दाहालका अनुसार सिरहाकै अर्का पुरुषको पनि नोबेलमा मृत्यु भएको छ । ६२ वर्षीय वृद्ध पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको उनको भनाइ छ । सङ्क्रमित वृद्धको मृत्यु हिजो दिउँसो ३ः१५ बजेतिर भएको हो ।
विराटनगरकै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत तीन जना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार मृत्यु हुनेमा एक वृद्धसहित दुई पुरुष र एक महिला छन् । मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुषको गय राति मृत्यु भएको छ । उपचारकै क्रममा उनको मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको जानकारी राजवंशीले बताए । उनका अनुसार विराटनगर–१ की ३४ वर्षीया महिलाको पनि राति नै मृत्यु भएको छ ।
उनलाई पनि उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको राजवंशीले बताए। विराटनगर–१४ का ६८ वर्षीय वृद्ध पुरुषको उपचारका लागि भर्ना गरिएको केही समयमै राति कोसीमा मृत्यु भएको छ । सूचना अधिकारी राजवंशीका अनुसार वृद्धलाई हिजो दिउँसो भर्ना गरिएको थियो । मोरङको बूढीगङ्गा गाउँपालिकामा विराट शिक्षण अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालन गरेको कोभिड अस्पतालमा पछिल्लो समय दुई सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्ष मुनिका महिला र पुरुष रहेको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले बताए। उनका अनुसार पुरुषको आइतबार बिहान र महिलाको शनिबार राति मृत्यु भएको हो । इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुषको बिहान ४ बजेतिर मृत्यु भएको छ ।
देवका अनुसार कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका पुरुषलाई उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको विराटमै राति १०ः२० बजेतिर मृत्यु भएको कोभिड अस्पताल इन्चार्ज देवले जानकारी दिए। उनका अनुसार पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएकी महिलालाई उपचारका लागि वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो ।



