विराटनगर- मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित सात जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा एक, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा तीन\तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
उनीहरुको मृत्यु हिजोसाँझदेखि आज बिहानसम्ममा भएको हो । नोबेलमा विराटनगर महानगरपालिका–१ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचारकै क्रममा उनको बिहान ५ः२५ बजेतिर मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि संक्रमित पुरुषलाई उपचारका लागि वैशाख २६ गते भर्ना गरिएको थियो । विराटनगर–८ का ६४ वर्षीय वृद्ध पुरुषको गय राति १०ः१५ बजेतिर नोबेलमै मृत्यु भएको छ ।
दाहालका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २१ गते भर्ना गरिएको थियो । भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा वृद्धको मृत्यु भएको उनले बताए । कोरोना संक्रमित विराटनगर–५ की ५२ वर्षीया महिलाको पनि नोबेलमै उपचारका क्रममा ज्यान गएको छ । उनको बिहानका राति १२ः४५ बजेतिर मृत्यु भएको जानकारी दाहालले दिनु भयो । उनका अनुसार महिलालाई उपचारका लागि वैशाख २९ गते भर्ना गरिएको थियो ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक महिलासहित तीन संक्रमितको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ की ५८ वर्षीया महिलाको आज बिहान २ बजेतिर मृत्यु भएको छ । केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएकी महिलालाई उपचारका लागि वैशाख २३ गते भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको उनको भनाइ छ । विराटनगर–१० का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोसीमै गय राति मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि वैशाख २५ गते भर्ना गरिएका वृद्धमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी राजवंशीले दिए । त्यस्तै विराटनगर–९ का ६७ वर्षीय वृद्ध पुरुषको पनि राति नै उपचारका क्रममा कोसीमा मृत्यु भएको छ । राजवंशीका अनुसार कोरोना संक्रमित उनलाई उपचारका लागि वैशाख ३० गते भर्ना गरिएको थियो । विराट शिक्षण अस्पतालमा सप्तरी घर भएका कोरोना संक्रमित ५३ वर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको छ ।



