विराटनगर - कोरोना संक्रमित एकै परिवारका आमा छोराको विराटनगरमा मृत्यु भएको छ । आमाको मृत्यु भएको भोलिपल्ट छोरोको पनि ज्यान गएको हो ।
विराटनगर महानगरपालिका–३ की ६० वर्षीया वृद्धा महिला र उनका ४२ वर्षे छोराको उपचारका क्रममा विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । छोरालाई वैशाख २३ गते भर्ना गरिएको थियो ।
आमाको भेन्टिलेटर र छोराको अक्सिजन सपोर्टमा आईसीयूमा उपचार भइरहेको बेला दुवै जनाको मृत्यु भएको अस्पतालका लेखा अधिकृत सुवास पोखरेलले बताए । उनका अनुसार आमाको हिजो बेलुका ७ः३० बजेतिर र छोराको आज दिउँसो २ बजेतिर मृत्यु भएको हो । वृद्धाको शवको विराटनगरको हाटखोलास्थित परमविश्रान्ति घाटमा अन्त्येष्टि गरिएको छ । छोराको शव अस्पतालमै रहेको पोखरेलले बताए ।
मृतक पुरुष विराटनगरका सुनचाँदी व्यवसायी हुन् । उनको गत वर्ष मात्रै मृगौलाको प्रत्यारोपण गरिएको पारिवारिक स्रोतले बतायो । अस्पताल ल्याउँदा आमाछोराकै अवस्था अत्यन्तै नाजुक रहेको बताउँदै पोखरेलले स्वास्थ्यमा उतारचढाव हुँदाहुँदै दुवै जनाको एक दिनको फरकमा मृत्यु भएको जानकारी दिए।

