विराटनगर– प्रदेश १ सरकारले कोरोना संक्रमण बढेसँगै कोभिड डेडिकेटेड अस्पतालको तयारी गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको सरोकारवालाको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, वुढीगंगा, नोवल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर,  वी एण्ड सी अस्पताल, विर्तामोडमा कम्तिमा ५००–५०० वेड क्षमताको तथा न्यूरो, कार्डियो तथा मल्टि स्पेसियालिटी अस्पताललाई १०० वेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल संचालनका लागि तयारी गरिएको छ ।

डेडिकेटेड अस्पतालका लागि आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि पिसीसीएमसीबाट नेपाल सरकार सिसिएमसी समक्ष प्रस्ताव गरी पठाउने निर्णय भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । उनका अनुसार निजी अस्पतालहरुलाई कोभिड उपचारमा दिइदै आएको अनुदान रकम सम्बन्धमा अझ स्पष्ट बनाई थप अनुदान रकम उपलव्ध गराई गुणस्तरिय सेवा प्रवाह गर्ने वातावरणका लागि नेपाल सरकार समक्ष लेखी पठाउने निर्णय भएको छ ।

प्रदेश सरकारले वर्तमान जटिल परिस्थितिमा जनजीवनलाई न्यूनतम मात्र असर पर्ने गरी सीमानाका र आन्तरिक आवगमन एवं व्यापार व्यवसायलाई नियन्त्रित रुपमा सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण होल्डिङ सेन्टर, आईसोलेसन सेन्टर लगायतका कार्यहरुमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपाल सरकारको नीति एवं निर्देशनसँग सामञ्जस्यता कायम हुने गरी स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा तत्काल गर्नुपर्ने कार्यहरु र त्यसका लागि स्रोत, साधन, जनशक्ति परिचालनको आवश्यकता र औचित्य सहितको नयाँ कार्ययोजना तर्जुमा गरी तत्काल प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको  छ । प्रदेश १ मा ९ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भईरहेको छ ।

दैनिक संक्रमितको संख्या बढेसँगै प्रदेश सरकारले अस्पतालहरुमा वेड क्षमता बढाउने तयारी गरेको हो । प्रदेश १ मा अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगर, विराट मेडिकल कलेज बुढीगंगा, न्युरो अस्पताल विराटनगर, नोवेल मेडिकल कलेज विराटनगर, मेची अस्पताल झापा, वीएण्डसी अस्पताल झापा, धनकुटा अस्पताल र संखुवासभा अस्पतालमा संक्रमितको उपचार भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।