विराटनगर- सुनसरीको धरानका उद्योगीसहित मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित तीन जनाको पछिल्लो १२ घण्टाभित्रमा मृत्यु भएको छ । धरानका उद्योगी ६४ वर्षीय पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार राति मृत्यु भएको छ ।
धरान–३ निवासी उनको उपचारका क्रममा राति १०ः५० बजेतिर मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिनु भयो । जटिल अवस्थामा उपचार जारी राखिएको भए पनि बचाउन नसकिएका मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको उहाँको भनाइ छ । पीसीआर परीक्षण गराउँदा कोरोना भाइरस पुष्टि भएर स्वास्थ्यमा थप समस्या आएपछि उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । आन्द्रामा देखिएको समस्याको उपचार गराउन केही समयअघि भारतको नयाँ दिल्ली गएका उद्योगीलाई फर्किएर आएपछि परीक्षण गराउँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नयाँ दिल्लीमा उनको आन्द्राको शल्यक्रिया गरिएको थियो ।
मृतक उद्योगी सुनसरी उद्योग वाणिज्य सङ्घका सल्लाहकार हुन् । उनको धरानमा सूर्य कत्था उद्योग र खोटोको टरपेनटाइन तथा गुट्खा उद्योग पनि छ । उनी पेट्रोल पम्पका सञ्चालक पनि हुन् । त्यस्तै विराटमै उपचारररत विराटनगर महानगरपालिका–५ की ५२ वर्षीया महिलाको पनि मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई हिजो दिउँसो उपचारका लागि अस्पताल लगिएको थियो । गम्भीर अवस्थामा अस्पताल ल्याइएकी महिलाको साँझ ७ः४० बजेतिर मृत्यु भएको जानकारी देवले दिए । त्यस्तै मोरङको कटहरी गाउँपालिका–२ की ९१ वर्षीया वृद्धाको होम आइसोलेसनमै मृत्यु भएको छ ।
पीसीआर परीक्षण गराउँदा वैशाख २२ गते रिपोर्ट पोजिटिभ आए पनि उनलाई होम आइसोलेसनमै राखिएको थियो । प्रहरीका अनुसार कोरोना सङ्क्रमित वृद्धाको गय राति ११ः४० बजेतिर घरमै मृत्यु भएको हो । उता बुटवल घर भएका ५१ वर्षीय एक पुरुषको पनि राति ११ बजेतिर विराटनगरमा मृत्यु भएको छ । उनी विराटनगर महानगरपालिका–९ का खेमराज ढुङ्गानाको घरमा डेरा बस्थे । श्वासप्रश्वासमा समस्या भएपछि पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब सङ्कलन गरेर कोसी अस्पताल लगिएको थियो । तर त्यसको रिपोर्ट नआइकन नै बसेकै कोठामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव व्यवस्थापनका लागि रिपोर्टको पर्खाइमा रहेको प्रहरीको भनाइ छ । रिपोर्ट पोजिटिभ आएमा प्रक्रिया पूरा गरेर शवको व्यवस्थापन गरिने र नेगेटिभ आएमा अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइने मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार रिपोर्ट प्राप्त भइनसकेका कारण मृत्यु कोरोनाका कारण हो या हैन भन्ने यकिन हुन बाँकी छ ।



