विराटनगर-  विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक महिलाको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको छ । विराटनगर महानगरपालिका–५ कोचाखालकी ३७ वर्षीया महिलाको रक्तश्राव नरोकिएकै अवस्थामा गय राति ९ः३० बजेतिर मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमा कोरोना सङ्क्रमणसँगै अत्याधिक रक्तश्राव भइरहने समस्या थियो । महिलालाई उपचारका लागि हिजो दिउँसो ४ः२० बजेतिर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उपचार सफल हुन नसक्दा पाँच घण्टाभित्रै मृत्यु भएको दाहालले बताए । पाठेघरमा भएको सङ्क्रमणका कारण महिलालाई रक्तश्रावको समस्या देखा परेको पाइएको उनको भनाइ छ ।

दाहालका अनुसार रक्तश्राव नरोकिएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोरोना सङ्क्रमित महिलालाई उपचारका लागि अस्पताल ल्याइएको हो । ‘रक्तश्राव धेरै भएकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको रहेछ,’ उनले भने ‘अस्पताल ल्याइपुर्याउँदा अवस्था निक्कै गम्भीर बनिसकेको थियो ।’ तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि रक्तश्राव नरोकिँदा जीवितै राखेर सङ्क्रमणमुक्त गर्ने प्रयास असफल भएको जानकारी दाहालले दिए ।

उनका अनुसार मृतकमा रक्तश्राव र कोरोना सङ्क्रमणबाहेक स्वास्थ्य सम्बन्धी अरु कुनै पुरानो समस्या थिएन । मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको दाहालको भनाइ छ ।