विराटनगर- मोरङका अलगअलग अस्पतालमा कोरोना भाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ । बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा वृद्धा महिला र विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक पुरुषको ज्यान गएको हो ।

उपचारका लागि विराट पुर्याएको केही बेरमै कोरो ना संक्रमित एक जना वृद्धा महिलाको मृत्यु भयो । विराटका कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको गय राति १०ः४० बजेतिर मृत्यु भएको हो । श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि महिलालाई केही दिनअघि उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा हिजो दिउँसो रिपोर्ट पोजिटिभ आएपछि आफन्त र परिवारका सदस्यले उपचारका लागि कोसी कोभिड अस्पताल लगेका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि फर्काएर विराटकै कोभिड अस्पतालमा ल्याइएको थियो । तर उपचारका लागि आइसोलेसनमा भर्ना गर्न नपाउँदै वृद्धा महिलाको मृत्यु भएको जानकारी देवले दिए । त्यस्तै झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको आज बिहान ६ बजेतिर विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भयो । कोरोना पुष्टि भएपछि गत वैशाख ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएका मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए।

अस्पताल भर्ना गरिएदेखि नै अवस्था गम्भीर रहेकाले संक्रमित पुरुषलाई आईसीयूमा राखेर उपचार थालिएको भए पनि जीवितै राख्न नसकिएको र उपचार सम्भव नभएको उनको भनाइ छ । हिजो साँझबाट संक्रमित पुरुषको अवस्था थप गम्भीर बनेपछि परिवारका सदस्यसँगको समन्वयमा थप उपचारका लागि भेन्टिलेटरमा राखिएको जानकारी राजवंशीले दिए ।

दुवै अस्पतालले मृतक सङ्क्रमितको शव व्यवस्थापनका लागि पहल भइरहेको जनाएका छन् ।