विराटनगर-एमाले नेता केपी ओली र नेता माधवकुमार नेपाल पाँच महिना पछि बुधबार आमने सामने भएका छन । यस बीचको अवधिमा दुवै नेताले एक अर्कालाई गम्भिर आरोप मात्रै लगाएनन चरित्र नै उदांगो हुने भाषणा गर्न समेत भ्याए । उनीहरुका बीच कात्तिक २३ गते छलफल भएको थियो । चैत १ मा भएको छलफल पनि सुखद नरहेपछि दुबै नेता आ-आफ्नै तालमा फर्कीएका थिए ।

काठमाडौंको मेरियट होटलको ९०१ नम्बरको कोठामा बुधबार दुवै नेता बिच दुई घण्टा बार्ता चल्यो । दुईघण्टाको बार्तामा ओलीले नेकपा एकिकरण देखि फुटसम्मको कुरा करिब १ घण्टा राखे । उता माधव नेपालले भने ओलीले चालेका कदम र कमजोरीहरु बताएर पार्टीलाई फुटबाट जोगाउन आग्रह गरेका थिए । 

नेपाल र ओली अलग्गै पार्टीको अभ्यासमा देखिएपनि दुबै समूहका दोश्रो पुस्ताका नेताहरु भने एमाले कुनैपनि हालतमा फुटाउनु हुदैन भनेर पहलमा लागेका थिए । जसको फलस्वरुप दुवै नेता बिचको बार्ता सम्भव भएको हो । 

ओलीसंग भेट गर्न जानु अघि नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठक बसेको थियो । जसले पार्टी एकताका लागि आह्वान गर्ने निणर्य गरेको थियो । वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहितका २७ संघीय सांसदलाई संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले स्पष्टीकरण सोधेपछि त्यसबारे धारणा बनाउन स्थायी कमिटी सदस्यहरूको बैठक बसेको थियो । 

बैठकमा स्पष्टीकरणको प्रतिवादसहित जवाफ दिने निणर्यसँगै पार्टी एकताका लागि पहल गर्ने निणर्य भएको थियो । यता सहाना प्रधान प्रतिष्ठानको कार्यालयमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठक चलिरहँदा उता बालुवाटारमा एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री ओलीसँग भेट गरिरहेका थिए । बिहान ११ देखि दिउँसो १ बजेसम्म भएको भेटमा भट्टराईले उदारताका साथ पार्टी एकीकरणको अगुवाइ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।