विराटनगर-विराटनगर सिटी अस्पतालको एम्बुलेन्स गाँजा र रक्सी बोक्नका लागि प्रयोग भइरहेको पाइएको छ । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा विना रोकछेक निर्वाध सञ्चालन हुन्छन् ।


बन्द हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुने एम्बुलेन्स ट्राफिक प्रहरीको चेकिङमा पनि खासै पर्दैनन् ।


यही मौकाको फाइदा उठाउँदै एम्बुलेन्समा अवैध सामानको ओसारपसारसमेत हुने गरेको घटना बेला-बेला सार्वजनिक हुँदै आएका छन् । हो, यस्तै घटना धनकुटामा पनि भएको छ । एम्बुलेन्समा राखेर लैजादै गरेको अवस्थामा धनकुटाको स्कुलडाँडाबाट आज बिहान अबैध गाँजा र रक्सी बरामद भएको छ ।


विराटनगर सिटी हस्पिटल प्रालिको को.१ च ४६१५ नम्बरको एम्बुलेन्समा राखेर विराटनगरतर्फ लैजादै गरेको अवस्थामा गाँजा र रक्सी फेला परेको हो ।


एम्बुलेन्सबाट प्रहरीले ३ सय ग्राम गाँजा र दुई लिटर लोकल रक्सी बरामद गरेको छ । बरामद गाँजा र रक्सीको परिमाण धेरै होइन । तरपनि अबैध ओसारपसारको ‘सुरक्षित साधन’ का रुपमासमेत वेला-वेला दुरुपयोग हुने गरेको एम्बुलेन्समा भेटिएको अबैध सामानले यो एक घटना मात्र हुनसक्ने कुरामा आशंका उब्जाएको छ । यसले थप रहस्यको संकेत पनि गरेको छ ।


बिरामी बोक्ने साधनमा अबैध सामाग्री ओसारपसार गरेको भेटिएपछि प्रहरीले एम्बुलेन्ससहित चालक विराटनगर-१४ का ३० बर्षीय नरेश शाह र एम्बुलेन्समा सवार श्रवण मण्डललाई नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा विरामी भने थिएनन् ।


सो एम्बुलेन्स विराटनगरबाट आइतबार अपरान्ह विरामी पुर्याउन भन्दै हिले गएको खुलेको छ । हिलेबाट विराटनगरतर्फ फर्कदै गर्दा बिहान करिब ९ बजे स्कूलडाँडामा एम्बुलेन्स दुर्घटना भएको थियो । दुर्घटनापछि प्रहरीले अनुसन्धान गर्दा एम्बुलेन्सभित्र गाँजा र रक्सी भेटेको हो ।


एम्बुलेन्स अनियन्त्रित भई सडकको नाली पार गरेर स्कूलडाँडाका कुलबहादुर ब्लोनको घरको आँगनमा पुगेको थियो । घटनापछि स्थानीयबासीले प्रहरीलाई खबर गरे । प्रहरी र स्थानीयबासीले एम्बुलेन्सभित्र गाँजा फेला पारेका हुन् ।


सोधपुछ र परीक्षण गर्दा चालकले मादकपदार्थ (निगार) पनि सेवन गरेको पाइएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए ।


‘ड्राइभरसहित दुवै जनाले हिलेमा निगार खाएर आएका रहेछन्, दुर्घटनापछि एम्बुलेन्समा हेर्दा गाँजा र रक्सी भेटियो,’ एसपी अधिकारीले भने,‘अबैध सामान भेटिएपछि एम्बुलेन्ससहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौ ।’