विराटनगर-  छैठौँ  संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि  सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब शनिबार भिड्ने भएका छन् । प्रतियोगिताको अन्तिम स्पर्धामा नेपाली र विदेशी दुई विभागीय टिम आम्नेसाम्ने हुन लागेका हुन् । उपाधि होडमा रहेका दुवै टिम मैदानमा सशक्त रुपमा प्रस्तुत हुँदै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

तर यसअघिका प्रतिस्पर्धामा सशक्त प्रदर्शन गरे पनि फाइनल जित्न भने दुवै टिमलाई सजिलो देखिएको छैन । गोल्डकप आयोजक समितिले शुक्रबार विराटनगरमा ‘प्री–म्याच कन्फरेन्स’ गर्दै फाइनल प्रतिस्पर्धा शनिबार साँझ ६ बजेबाट सुरु हुने जानकारी दिएको छ । चिरपरिचित मैदानमा एपीएफले उपाधिनजिक पुग्ने क्रममा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र घरेलु टिम विराटनगर महानगरपालिका–११ लाई निराश बनाएको थियो ।

विदेशी भूमिमा पाहुना टिमका रुपमा उपस्थित पञ्जाव भने गोर्खा ब्वाइज रुपन्देही, मच्छिन्द्र क्लब काठमाडौं र आहा–रारा गोल्डकप विजेता संकटालाई पाखा लगाउँदै फाइनल यात्रा सुरक्षित गरेको टिम हो । विराट गोल्डकपमा इतिहासमै पहिलो पटक सहभागिता जनाएको पञ्जावले यसअघिका तीनवटा खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो लक्ष्य पूरा गरिसकेको छ । नेपाली र विदेशी गरेर दुई विभागीय टिमबीचको फाइनल प्रतिस्पर्धा निक्कै रोचक हुने अपेक्षा गरिएको छ ।

एपीएफको फाइनल यात्राका लागि महत्वपूर्ण भूमिका खेलेका ‘लेफ्ट डिफेन्स’ मानबहादुर राना पञ्जावसँगको खेलमा मैदानमा देखिने छैनन् । दोहोरो पहेंलो कार्डका कारण बाहिरै रहनुपर्ने भएपछि एपीएफले उनको स्थानमा सन्तोष कटुवाललाई लैजाने भएको छ । एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले पुराना खेलाडी सम्मिलित टिमले मैदानमा विगतकै शैली अपनाउँदै खेल पस्किने उल्लेख गरे । पञ्जावका सर्वजीत सिंह र कप्तान जगदीप सिंह पनि मैदानमा ओर्लने छैनन् ।

गोली गाँठोमा लागेको चोटका कारण खेल्न नसक्दा सर्वजीत मैदान बाहिरै रहने छन् । बिहीबार राति भएको संकटासँगको सेमिफाइनल खेल (१–० गोल अन्तर) सकिएपछि झगडा गरेको भन्दै रेफ्री श्याम दनुवारले जगदीप र संकटाका साईद स्मार्टलाई रातो कार्ड दिएका थिए । दुवै खेलाडीले रातो कार्ड पाउँदा जगदीप भने एपीएफविरुद्ध फाइलन खेल्नबाट बञ्चित भएका हुन् । प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाउने छ । उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउने छ ।