विराटनगर– शसस्त्र प्रहरीको एपीएफ विराट गोल्डकपको उपाधिनजिक पुगेको छ । गएराती सम्पन्न पहिलो सेमीफाईनल खेलमा घरेलु टोली विराटनगर ११ लाई ३–२ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

एपीएफको जितका लागि सनिश श्रेष्ठ, रवी थिंग र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफको २६ औ मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबरीमा ल्याउन निकै संघर्ष गर्यो । तर सफल हुन सकेन ।  

खेलको ५३ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डिबक्स एरिया नजिक बललाई होल्ड गरि गरेको प्रहार गोलमा परिणत भयो । समिरले गोल गरेसँगै खेल बराबारीमा ल्याए । खेलको ६७ औं मिनेटमा एपीएफका रबि थिंगले गोल गरि टिमलाई अग्रता दिलाए । विराटनगरले ६९ औं मिनेटमा गोल गरि खेललाई २–२ ओ अवस्थनमा पुर्यायो ।  विराटनगरका प्रकाश बुढाथोकीले पेनान्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गराउँदै खेल बराबरीमा ल्याएका हुन् ।

निर्धारित समयसम्म खेल २–२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयको २७ औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो । लामाले गरेको गोल टिमको जितको लागि निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच एपीएफको मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए । आज साँझ हुने अन्तिमको सेमीफाईनल खेलमा संकटा क्लब काठमाण्डौं र भारतको पंजाव पुलिस क्लववीच प्रतिष्पर्धा हुनेछ ।