विराटनगर - प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रदेशसभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए ।

माओवादी केन्द्रले गत पुस १२ गते दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित बनेको तत्कालिन नेकपाको प्रचण्ड–माधव समूहले पुस १२ गते प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

तर सर्वाेच्च अदालतले फागुन २३ गते दलको नामसम्बन्धी विवादमा फैसला गर्दा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि त्यतिबेला प्रचण्ड–माधव समूहमा रहेका सांसदहरु पनि आफ्नो साविकको दल एमाले र माओवादी केन्द्र अनुसार नै विभाजित हुन पुगे । नेकपा एमालेको माधव नेपाल समूहका १६ जना सांसदले मंगलबार सामूहिक रुपमा अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएका थिए । माओवादी केन्द्रले संसद बैठकबाटै फिर्ता लिने तयारी गरेको हो ।