विराटनगर- मोरङमा ९ औं चरणको हात्तिपाइले विरूद्धको औषधी आउँदो चैत २० गतेदेखि खुवाइने भएको छ । विराटनगर महानगरपालिकासहित १७ वटा स्थानिय तह रहेको मोरङमा ९ लाख २४ हजार ५ सय ६२ जनालाई हात्तिपाइले विरूद्धको औषधी खुवाइने लक्ष्य रहेको छ ।
स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आज पत्रकार सम्मेलन गरि मोरङमा हात्तिपाइलेको औषधि खुवाइने अभियान अन्तिम चरणपमा पुगेको जानकारी गराएको हो । जनगणना अनुसार मोरङमा १० लाख ८७ हजार ७ सय ७२ जनसंख्या मध्ये १३ प्रतिशत हात्तिपाइलेको रोगी रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेशकुमार मेहताले जानकारी दिए ।
मोरङको सुनवर्षी र रंगेली नगरपालिका भित्रको गाउँमा १ सय २० जना हात्तिपाइले रोगीका विरामी रहेका स्वास्थ्य कार्यलय मोरङले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार गाउँमा भन्दा पनि शहरी क्षेत्रका मानिसले हात्तिपाइले विरूद्धको औषधी कम सेवन गर्ने गरेको पाइएको छ ।
मोरङको एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामा एकै पटक हात्तिपाइले विरुद्धको अभियान सुरू गरीने कार्यालयले जनाएको छ । देशभरीमा ६३ वटा जिल्लाका २ करोड ५० लाख मानिस हात्तिपाइले रोगको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश १ को झापा मोरङ र धनकुटामा हात्तिपाइले विरूद्धको औषधी खुवाउने अभियान सुरू छ ।



