विराटनगर - नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले स्थानीय जनताको सहमतिविपरीत अर्थमन्त्री विष्णु पौडेलले जबरजस्ती मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका छन् ।

नेता खाँणले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि बसोबास गर्दै आएका जनताको मागको उचित सम्बोधन नगरी जबरजस्ती ढंगले बल प्रयोग गरेर, धम्क्याएर र जनताको चित्त दुखाएर गरिने विकासको औचित्य नहुने बताएका छन।

मोतिपुरबासी जनताको विमति हुँदाहुँदै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षाबलको आडमा जबरजस्ती ढंगले दमन गरेर शिलान्यास गर्दा झडप भएको उल्लेख गर्दै खाँणले जनताले अपनत्व नलिएको विकासले गति नलिनेतर्फ सरकारलाई सचेत गराएका छन् ।

उनले जनताको मागलाई सम्बोधन र उचित व्यवस्थापन गरेर मात्र काम अघि बढाउन सरकारसग माग गरेका छन् ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले पनि विज्ञप्ति निकालेर जनताको माग सम्बोधन नगरी अर्थमन्त्री पौडेलले हतारमा औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका थिए ।