विराटनगर–प्रदेशसभाको भोली (बिहबार)बस्ने गरी तय भएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले भोली बस्ने बैठक सूचना टाँस गरेर स्थगित गरि अर्को बैठक चैत २ गते तोकेको छ ।


प्रदेशसभाको यस अघि फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धमा अविश्वासको प्रस्ताव पेश भएको थियो ।  फागुन २० गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले अविश्वासको प्रस्तावलाई कसरी प्रदेशसभामा छलफल गराउँछन् भन्ने विषय चासोका साथ हेरिएको बेला बैठक नै स्थगित गरेकोप्रति नेकपा प्रचण्ड-माधव समूह भने असन्तुष्ट बनेको छ ।


‘यस प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक मिति २०७७ साल फागुन २० गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी तोकिएकोमा विशेष कारणले उक्त बैठक मिति २०७७ साल चैत्र २ गते सोमबार दिनको १२ः३० बजे प्रदेश सभाहल, प्रदेश नं. १, विराटनगरमा बस्ने व्यहोरा मानीनय प्रदेशसभा सदस्यहरुको जानकारीका लागि प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।


प्रदेश सभामा ओली पक्षिय मुख्यमन्त्री विरुद्ध माधव प्रचण्ड समूहले अविश्वास प्रस्ताव टेबुल गरेपछि प्रदेश सभाको बैठक सुचारु हुन सकेको छैन । कहिले सत्तापक्षकै विरोध त कहिले अनुपस्थितिको कारण सभा सुचारु हुन नसकेको हो ।