विराटनगर, ११ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ इन्चार्ज ३२ वर्षीय डिबी सिलवाल भनिने धनबहादुर विकलाई शिक्षक हत्या आरोपमा जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विकलाई मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या आरोपमा न्यायाधीश कपिलमणि गौतमको इजलासले हिजोसाँझ थुनामा राख्न आदेश दिएको हो । आदेशपछि उनी कारागार चलान भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिनु भयो । शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा विकविरुद्ध प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो ।

व्यापारीसँग चन्दा लिन जाँदै गर्दा प्रहरीले माघ ७ गते मोरङको बूढीगंगाबाट विकलाई पक्राउ गरेको थियो । अनुसन्धान सकेर प्रहरीले मिसिल बुझाएपछि पक्राउ परेका विक र फरार रहेका समूहका महासचिव चन्दसहित ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अघिल्लो आइतबार अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । घटनामा ४२ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो । ति मध्ये ३५ जनालाई प्रतिवादी बनाइएको भए पनि वतन नुखलेको भन्दै सात जनाकाविरुद्ध भने मुद्दा दर्ता गरिएको थिएन ।

वतन नखुलेका सात जनाको हकमा सरकारी वकिल कार्यालयले अदालतमा पूरक अभियोग लैजाने तयारी गरेको सहायक जिल्ला न्यायाधीवक्ता मुकुन्द रेग्मीले जानकारी दिनु भयो । ‘विप्लव’ समूहले सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको हो ।

मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरिएकोको अवस्थामा शव भेटिएको थियो । घटना भएकै दिन ‘विप्लव’ समूहका मेची–कोसी ब्यूरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए ।