विराटनगर, ८ फागुन । सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले विराटनगरमा आज शक्ति प्रदर्शन गर्दै छ । ओलीले गत पुस ५ गते प्रतिनिधिसभा (संसद) विघटन गरेपछि सत्ता पक्षले प्रदेशमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्न लागेको हो । संसद विघटनपछि नेकपा दुई समूहमा विभाजित बनेको छ । एउटा समूहको नेतृत्व नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललले गरिरहनु भएको छ ।

ओलीले चालेको कदम असंवैधानिक र प्रतिगामी भन्दै विरोधमा उत्रिएको यो समूह आन्दोलनमा छ । संसद पुनस्थापनाको मुल मुद्दा उठाउँदै  सरकारको असंवैधानिक कदमको विरोध गर्दैै दाहाल–नेपाल समूहले ठाउँठाउँमा शक्ति प्रदर्शन गरिरहेको छ । त्यसलाई काउन्टर दिन सरकारको नेतृत्व गरिरहेको ओली समूहले पनि आमसभा र शक्ति प्रदर्शन गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले आमसभामार्फत संसद विघटन गर्नुपर्ने कारण र त्यसको औचित्य प्रष्ट पार्ने प्रयास गरिरहनुभएको छ । आजको शक्ति प्रदर्शन र आमसभालाई संसद विघटनपछि प्रदेश १ मा ओली समूहले गरेको अहिलेसम्मकै ठूलो कार्यक्रमका रुपमा लिइएको छ । विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजित सभामा दुई लाख हाराहारी समर्थक उतार्ने ओली समूहको दाबी छ । आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, ओली समूहका नेता सुभासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रदेशबाट दुई लाख समर्थक सहभागी गराएर जनसभा गर्न लागिएको नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार जनसभामा उपस्थिति जनाउनेहरुका लागि विभिन्न स्थानमा एक हजार पाँच सय सार्वजनिक बसको व्यवस्था गरिएको छ । निजी सवारी र मोटरसाइकलमा पनि समर्थक आउने ढकालले बताउनु भयो । उहाँका अनुसार आमसभाका लागि विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोला लगायतका चोकबाट जुलुस निकालिने छ । जनसभाका लागि सम्पूर्ण तयारी पूूरा भइसकेको ढकालले बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री ओली विहान ११ बजे विराटनगरमा आउने र सभालाई सम्बोधन गर्दै अरु केही कार्यक्रममा सहभागी बनेर ४ बजे फर्कने तय भएको छ । विहान ११ बजेबाट सुरु हुने जनसभामा एक घण्टा संस्कृतिक कार्यक्रम पनि गरिने जानकारी नेता ढकालले दिनु भयो । सभामा अत्याधिक भिड हुने भएकाले ओलीसहित शीर्ष नेताहरुले गर्ने सम्बोधनलाई दुई ठाउँबाट स्क्रिनमार्फत देखाउने तयारी छ । कार्यक्रमस्थल सिङ्गार्नेदेखि लिएर सभा आयोजनाका लागि आवश्यक तयारी र व्यवस्थापनका सबै काम पूरा भएको ढकालले बताउनु भयो ।  


सभामा प्रमुख अतिथीका रुपमा प्रधानमन्त्री ओली आउने भएपछि विराटनगर लगायत आसपासको सुरक्षा व्यवस्था कडा पारेर लगिएको छ । विराटनगरमा हिजैदेखि चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट सुरक्षाको प्रबन्ध मिलाइएको थियो । आज बिहानैदेखि विराटनगरमा ठूलो सङ्ख्यामा पोसाक र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएका छन् । ठाउँठाउँमा नेपाल र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ । सादा पोसाकका सुरक्षाकर्मी पनि उत्तिकै सङ्ख्यामा परिचालन गरिएको छ ।

स्रोतका अनुसार सुरक्षा व्यवस्था मजवुत बनाउन नेपाली सेनाको टोली सादा पोसाकमा खटिएको छ । केही दिनअघि बुटवलमा आमसभा गर्नु भएका प्रधानमन्त्री ओलीले निर्वाचनको सन्देश दिनका लागि शनिबार विराटनगरमा पनि सभाको तयारी गर्नु भएको हो । यसअघि ओली समूहले धनगढी र काठमाडौं लगायतका स्थानमा पनि आमसभाको आयोजना गरिसकेको छ । प्रधानमन्त्री सवारी हुनेभएपछि विराटनगरमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले विराटनगर र आसपासका स्थानको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनु भयो । ‘हामीले सुरक्षा व्यवस्था पहिल्यैदेखि मजवुद बनाएका छौँ,’ उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीको सवारी हुने भएकाले सुरक्षाका हिसाबले सबै उच्च सतर्कता अपनाइएको छ ।’

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते आमनिर्वाचन घोषणा गरेका छन् । विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । पक्ष र विपक्षका तथा एमिकस क्युरीका कानुन व्यवसायीको बहस सकिएका कारण सम्भवत यो मुद्दामा सर्वोच्चले फागुन दोस्रो सातासम्ममा निस्कर्ष दिनसक्ने सम्भावना छ । तर नेकपाको प्रचण्ड–माधव समूहसहित अन्य दल र नागरिक समाज संसद पुनस्थापनाको माग गर्दै विघटनको विरोधमा सडक आन्दोलनमा छन् ।