विराटनगर, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपाले भोलि (शनिबार) प्रदेश १ को राजधानी विराटनगरमा वृहद जनसभा गर्दै छन् । जनसभाको अघिल्लो दिन आज मार्चपास गरिँदै छ । विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयबाट आज दिउँसो ३ बजे सुरु हुने मार्चपासले नगरका विभिन्न भागको परिक्रमा गर्ने नेताहरुले बताएका छन् ।

मार्चपासमा पार्टीका केन्द्रीय एवं प्रदेश नेताहरु, जनवर्गिय संगठनका प्रतिनिधि, नागरिक अगुवा, पेसाकर्मी, युवा, स्वयंसेवकहरु लगायतको सहभागिता रहने राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकीले बताउनु भयो । विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय सभालाई भव्य बनाउन हिजो बुढाथोकीकै संयोजकत्वमा विराटनगरमा भव्य मोटरसाइकल र्याली निकालिएको थियो ।

र्यालीमा विराटनगर महानगरपालिकाका विभिन्न वडासँगै मोरङको रंगेली, रतुवामाई, सुनवर्षी नगरपालिका, जहदा गाउँपालिका लगायतबाट करिब पाँच हजारको संख्यामा पार्टी कार्यकर्ताको सहभागिता रहेको उहाँको भनाइ छ । कोषाध्यक्ष बुढाथोकीका अनुसार पार्टी कार्यालयबाट निस्किएको र्याली रोडशेष चोक, मुख्य बजार हुँदै पुष्पलाल चोक भएर पुनः ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

ओलीले भोलि विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना गरिने प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई भव्य बनाउन अघिल्लो दिन मार्चपास आयोजना गर्न लागिएको ओली समूहले जनाएको छ । उसले सभामा लगभग डेढ लाख नेताकार्यकर्ता उतार्ने तयारी गरेको छ । ओली समूहले यसअघि काठमाडौं, बुटवल, धनगढी लगायतका स्थानमा जनसभा गरिसकेको छ । पुस ५ गते ओलीले संसद (प्रतिनिधिसभा) विघटन गरेपछि सत्तारुढ नेकपा विभाजित बनेको छ ।

एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहनु भएको छ । दाहाल–नेपाल समूहले संसद विघटनलाई असंवैधानिक एवं प्रतिगामी कदम भनेर संसद पुनस्थापनको माग गर्दै सडक आन्दोलन गरिरहेको छ । अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहनु भएको छ । ओली समूहले संसद विघटन किन गर्नु परेको हो भनेर त्यसको औचित्य जनसभामार्फत प्रष्ट पार्ने काम गरिरहेको छ । विराटनगरमा पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरेको अध्यक्षतामा सभा सम्पन्न हुने बताइएको छ ।

सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेता सुवासचन्द्र नेम्वाङ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । यसैबीच सभालाई सम्बोधन गर्न ओली आउने भएपछि विराटनगरको सुरक्षा व्यवस्था अघिल्लै दिनबाट कडा पारिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले  सभाको अघिल्लो दिन शुक्रबार बिहानैबाट सबै ठाउँको सुरक्षा अवस्था मजवुत बनाएर लगिएको जानकारी दिनु भयो । सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सुरक्षा निकायले विशेष कार्ययोजना बनाएर लागु गरेका छन् ।

ठाउँठाउँमा ठूलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । सादा पोसाकका सुरक्षाकर्मी पनि उत्तिकै सङ्ख्यामा खटाइएको छ । विराटनगरको हाटखोला, कञ्चनबारी, ढाट, शन्सारीमाईस्थान, रोडशेष चोक लगायतका स्थानबाट निकालिने र्याली नगरका विभिन्न भागको परिक्रमा गर्दै ओलीले सम्बोधन गर्ने सभामा पुगेर परिणत हुने जनाइएको छ ।

विभिन्न ठाउँबाट निस्कने र्यालीलाई व्यवस्थित गर्दै सभास्थलसम्मको सुरक्षा व्यवस्था मिलाइने डीएसपी राईले बताउनु भयो । उहाँका अनुसार र्यालीमा सहभागी हुन आएकाहरुले प्रयोग गरेका सवारी साधनलाई पार्किङको व्यवस्था गर्दै विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्त राखिने छ ।

ओली शनिबार बिहान ११ बजे विमानस्थल हुँदै जहाजमार्फत विराटनगर ओर्लने कार्यक्रम रहेको प्रहरीले जनाएको छ । विमानस्थलदेखि सभास्थल र प्रधानमन्त्री पुग्ने सबै ठाउँमा सुरक्षा व्यवस्था कडा पारिने जानकारी प्रहरीले दिएको छ ।