विराटनगर, ५ फागुन । हतियारसहित मोरङको बूढीगंगाबाट पक्राउ परेका ‘विप्लव’ समूहका मोरङ इन्चार्ज ३२ वर्षीय डिबी सिलवाल भनिने धनबहादुर विकलाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

विकविरुद्ध चलाइएको हाततियार खरखरजना मुद्दामा न्यायाधीश दुर्गा खड्काको इजलासले यस्तो आदेश दिएको हो । संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका ३२ वर्षीय विकलाई प्रहरीले व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा गत मा ७ गते हतियारसहित पक्राउ गरेको थियो । मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा पनि संलग्नता देखिएपछि विकविरुद्ध हातहतियार खरखजना तथा अपहरण र कर्तव्य ज्यान मुद्दा चलाइएको थियो ।

हतियारका बारेमा अनुसन्धान सक्दै प्रहरीले मिसिल बुझाएपछि विकलाई प्रतिवादी बनाउँदै अभियोगपत्र तयार पारेर जिल्ला सरकारी वकिल कार्यालयले गत आइतबार उनीविरुद्ध हातहतियार खरखजना मुद्दा अदालतमा दर्ता गरेको थियो । त्यही मुद्दामा उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश आएको जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतको आदेशपछि विक कारागार चलान भएका छन् । हातहतियार खरखरजना मुद्दामा उनी एक्लैलाई प्रतिवादी बनाइएको थियो ।

तर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा भने विकसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत गरेर ३५ जनाविरुद्ध दर्ता भएको छ ।

‘विप्लव’ समूहले सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको हो । मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरिएको थियो ।