विराटनगर । विराटनगरमा दसैं, तिहार र छठलाई लक्षित गर्दै ‘बिराट ट्रेड फेयर २०८३’ आयोजना हुने भएको छ । विराट व्यापार संघको आयोजनामा विराटनगर–९ स्थित जैन भवनमा असोज २२ देखि ३० गतेसम्म व्यापार मेला सञ्चालन गर्न लागिएको हो ।

विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलका अनुसार मेलामा १०० भन्दा बढी स्टल राखिनेछन् । नेपालका साथै भारत, बंगलादेश र पाकिस्तानका व्यवसायी तथा प्रदर्शकहरूको समेत सहभागिता रहनेछ । आयोजकले मेलामा एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ता भित्र्याउने लक्ष्य राखेको छ ।

स्थानीय उत्पादनको बजार विस्तार, व्यापारिक गतिविधिलाई चलायमान बनाउने तथा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको अध्यक्ष जिन्दलले बताए । उनका अनुसार उपभोक्ताहरू चाडपर्वका बेला किनमेलका लागि सीमापारि जाने प्रवृत्तिलाई केही हदसम्म रोक्दै स्थानीय बजारमै आकर्षक वस्तु तथा सेवा उपलब्ध गराउने प्रयास मेलामार्फत गरिनेछ ।

चाडपर्वलाई लक्षित गरेर विभिन्न छुट तथा अफरमा सामान उपलब्ध गराइने भएकाले मेला उपभोक्ता र व्यवसायी दुवैका लागि उपयोगी हुने आयोजकको अपेक्षा छ । मेलाले उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता तथा उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक सहकार्यको वातावरणसमेत तयार गर्ने अध्यक्ष जिन्दलले बताए ।

मेलामा आधुनिक प्रविधिमा आधारित प्रदर्शनी स्टल निर्माण गरिनेछ भने सहभागी स्टलहरूमा डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराउने तयारी गरिएको छ । आगन्तुकको सुरक्षाका लागि मेला परिसरमा सीसीटीभी निगरानीको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

मेलाका अन्य आकर्षणमा स्थानीय तथा अन्तर्राष्ट्रिय परिकारसहितको फुड कोर्ट, सेल्फी जोन तथा विभिन्न अन्तरक्रियात्मक गतिविधि रहनेछन् । विभिन्न क्षेत्रका उत्पादन तथा सेवाबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी दिने गरी स्टल व्यवस्थापन गरिने संघले जनाएको छ ।

अध्यक्ष जिन्दलले मेला बिक्री प्रवद्र्धनको अवसर मात्र नभई नयाँ व्यवसायिक सम्बन्ध विस्तार गर्ने थलोसमेत बन्ने बताए । उनका अनुसार मेलामा सहभागी व्यवसायीले आफ्ना उत्पादनको बजार पहिचान र प्रवद्र्धन गर्न पाउनेछन् भने उपभोक्ताले प्रतिस्पर्धी मूल्यमा विभिन्न वस्तु तथा सेवा छनोट गर्ने अवसर पाउनेछन् ।

विराट व्यापार संघ २०५७ साल असार १२ गते स्थापना भएको संस्था हो । संघमा विभिन्न क्षेत्रका ४ हजार ५०० भन्दा बढी व्यवसायी सदस्यका रूपमा आबद्ध रहेको संघले जनाएको छ । व्यवसायीको हित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रको सुदृढीकरणका लागि संघले काम गर्दै आएको छ ।