विराटनगर–नेपाल उद्योग परिसंघ (CNI) कोशी प्रदेशले मोरङ जिल्लाको मुख्य औद्योगिक करिडोरमा पर्ने हाटखोला–कटहरी हुलाकी राजमार्ग खण्डको निर्माण कार्य तत्काल सम्पन्न गर्न सरकारसँग माग गरेको छ। परिसंघका अध्यक्ष पवन कुमार शारडाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै वर्षौँदेखि अलपत्र परेको सडकका कारण औद्योगिक क्षेत्र र स्थानीय नागरिकले चरम सास्ती भोग्नुपरेको बताएका छन्।

हुलाकी राजमार्ग अन्तर्गतको करिब ६–७ किलोमिटर लामो हाटखोला–कटहरी खण्ड अत्यन्तै दयनीय अवस्थामा पुगेको ज्ञापनपत्रमा उल्लेख छ। विक्रम संवत् २०७६ सालमा ठेक्का सम्झौता भए तापनि हालसम्म निर्माण काम शून्य प्रायः रहनुले राज्यप्रति नागरिक र व्यावसायिक क्षेत्रको अविश्वास बढाएको परिसंघको ठहर छ। पटक-पटक भएका आन्दोलन र दर्जनौँ लिखित प्रतिबद्धताका बावजुद निर्माण कम्पनीको बेवास्ता र सम्बन्धित निकायको मौनताका कारण यो अवस्था आएको ज्ञापनपत्रमा जनाइएको छ।

सडक ठूला-ठूला खाडल र दलदलमा परिणत हुँदा औद्योगिक कच्चा पदार्थ तथा तयारी मालसामान बोकेका ट्रकरकन्टेनर दैनिक रूपमा पल्टिने गरेका छन्। यसबाट लाखौँ मूल्य बराबरका सामग्री नष्ट हुनुका साथै ढुवानी लागत दोब्बर भई आपूर्ति शृङ्खला (Supply Chain) नै ठप्प हुन पुगेको छ। जसका कारण कटहरी क्षेत्रका दुई दर्जनभन्दा बढी ठूला र कैयौँ साना उद्योगहरू धराशायी बन्दै गएको र त्यसको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्र र राजस्व संकलनमा परेको परिसंघको भनाइ छ।

त्यस्तै हिउँदमा धूलो र वर्षामा हिलोका कारण बालबालिकाहरू समयमा विद्यालय पुग्न नसकेको तथा स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम बढेको बताइएको छ। बिराटनगर र कटहरी जोड्ने ५० वर्ष पुराना सिंहिया नदीको पुल समेत अत्यन्त जीर्ण भई एकतर्फी मात्र सञ्चालनमा रहेकाले जुनसुकै बेला भत्किने जोखिम रहेको भन्दै परिसंघले तत्काल नयाँ पुल निर्माण, प्राविधिक निरीक्षण (Retrofitting) र वैकल्पिक डाइभर्सनको व्यवस्था मिलाउन माग गरेको छ।

ज्ञापनपत्रमार्फत विगतका प्रतिबद्धताहरूलाई तत्काल कार्यान्वयन गर्दै युद्धस्तरमा सडक निर्माण अगाडि बढाएर औद्योगिक वातावरण र नागरिक अधिकारको रक्षा गर्न आग्रह गरिएको छ। सो ज्ञापनपत्रको बोधार्थ कोशी प्रदेशका मुख्यमन्त्री, मुख्य सचिव, सडक विभागका महानिर्देशक, मोरङका प्रमुख जिल्ला अधिकारी र कटहरी गाउँपालिकाका अध्यक्षलाई समेत पठाइएको छ।