विराटनगर — कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा मोरङलाई समग्र च्याम्पियन बनाउन उल्लेखनीय योगदान पुर्‍याएका एभरेष्ट माध्यमिक विद्यालयका खेलाडीहरूलाई विद्यालयले सम्मान गरेको छ।

विद्यालयले शुक्रबार आयोजित कार्यक्रममा मोरङ जिल्ला टोलीबाट प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेका ६ जना विद्यार्थी खेलाडीलाई अबिर, खादा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले खेलाडीहरूलाई सम्मान गर्दै प्रदेशस्तरको प्रतियोगितामा मोरङलाई पहिलो स्थान दिलाउन उनीहरूले खेलेको भूमिकाले विद्यालयको प्रतिष्ठासमेत उँचो बनाएको बताए। उनले आगामी दिनमा पनि खेल र अध्ययनलाई सँगसँगै अघि बढाउँदै अझ उत्कृष्ट उपलब्धि हासिल गर्न खेलाडीहरूलाई शुभकामना दिए।

कोशी प्रदेश पौडी संघको आयोजनामा असार १६ र १७ गते सुनसरीको इटहरीस्थित ओसियन पार्कमा सम्पन्न प्रतियोगितामा १४ जिल्लाको सहभागिता रहेको थियो। प्रतियोगितामा मोरङ प्रथम, भोजपुर दोस्रो र झापा तेस्रो भएको प्रतियोगिताका अनुगमन सुपरिवेक्षक इन्द्र राजभण्डारीले जानकारी दिए।

मोरङको उपाधि यात्रामा एभरेष्ट विद्यालयका ६ खेलाडीले मात्र ३ स्वर्ण, ७ रजत र ६ कास्यसहित कुल १६ पदक जित्दै महत्वपूर्ण योगदान दिएका थिए । एभरेष्टका आरध्य पाण्डेले ५० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै दुई स्वर्ण आफ्नो नाममा लेखाए।

धावा तामाङले ५० मिटर बटरफ्लाइमा स्वर्ण, ५०, १००, ४०० र ८०० मिटर फ्रिस्टाइलमा रजत तथा २०० मिटर फ्रिस्टाइलमा कास्य पदक जित्दै एक्लैले ६ पदक हात पारे। कृतक बास्तोलाले ५० र १०० मिटर ब्याकस्ट्रोकमा दुई रजत पदक जिते भने ओनस प्रधानले सोही विधाका ५० र १०० मिटरमा दुई कास्य पदक जिते।

हर्षित सिंहले २०० मिटर ब्रेस्टस्ट्रोकमा रजत पदक जित्दा युवन श्रेष्ठले २५ र ५० मिटर फ्रिस्टाइलमा कास्य पदक जितेको विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलले जानकारी दिइन्।

मोरङलाई समग्र च्याम्पियन बनाउन अन्य विद्यालयका खेलाडीहरूको पनि महत्वपूर्ण योगदान रहेको थियो। जिग्सन तामाङले ५०, १००, २००, ४०० र ८०० मिटरमा पाँच कास्य पदक जिते। डीपीएस स्कुलका भियान केडियाले आठ वर्षमुनिको स्पर्धामा २५ र ५० मिटर फ्रिस्टाइलमा दुई स्वर्ण पदक जिते भने बीकेभीएमका बिसु पराजुलीले २५ र ५० मिटर फ्रिस्टाइलमा रजत तथा १०० मिटर फ्रिस्टाइलमा कास्य पदक जिते।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले गरेका थिए। प्रतियोगिताका लागि आवश्यक बजेट बोर्डले उपलब्ध गराएको कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बर तामाङले बताए।