विराटनगर– मोरङ उद्योग व्यापार संघले आफ्नो हीरक जयन्ती वर्षको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत मोरङ बहिरा क्रिकेट संघका खेलाडीहरूलाई जर्सी (खेल पोशाक) सहयोग गरेको छ।
शुक्रबार संघको सचिवालयमा आयोजित कार्यक्रममा संघले आगामी दिनमा सञ्चालन हुने चौथो प्रादेशिक बहिरा क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले ३० थान जर्सी हस्तान्तरण गरेको हो।
संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, महासचिव संजयकुमार श्रेष्ठलगायत पदाधिकारीहरूले मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधि मोहन तिवारी, अंशु यादव र मोहम्मद साबिरलाई संयुक्त रूपमा जर्सी हस्तान्तरण गरेका थिए। कार्यक्रममा सांकेतिक भाषा दोभाषेका रूपमा राधिका न्यौपानेले सहजीकरण गरेकी थिइन्।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष राठीले शारीरिक रूपमा फरक क्षमता भएका खेलाडीहरूको मनोबल उच्च राख्न तथा खेलकुदमार्फत उनीहरूको विशिष्ट पहिचान स्थापित गर्न सहयोग गर्न पाएकोमा संघ परिवार गौरवान्वित भएको बताए। उनले आगामी दिनमा पनि खेलकुदको विकास, समावेशी सहभागिता र सकारात्मक सामाजिक अभियानमा संघले आफ्नो सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधि मोहन तिवारीले मोरङ उद्योग व्यापार संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले खेलाडीहरूमा नयाँ ऊर्जा थपिएको बताए। उनले प्राप्त सहयोगले आगामी चौथो प्रादेशिक बहिरा क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरूलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे।
मोरङ उद्योग व्यापार संघले हीरक जयन्ती वर्षका अवसरमा विभिन्न सामाजिक, शैक्षिक तथा खेलकुद प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत बहिरा क्रिकेट खेलाडीहरूलाई गरिएको जर्सी सहयोगलाई समावेशी खेलकुद प्रवर्द्धन र सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा हेरिएको छ।

