विराटनगर–वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको आर्थिक तथा सामाजिक पुनःएकीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उद्योगी तथा रोजगारदाताहरूले उनीहरूको सीप र दक्षता अनुसार स्वदेशमै रोजगारी उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र रेमी (REMI) परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई स्थानीय उद्योग तथा व्यवसायसँग जोड्ने, उपलब्ध रोजगारीका अवसरबारे जानकारी आदानप्रदान गर्ने तथा पुनःएकीकरणका चुनौती र सम्भावनाबारे छलफल गरिएको थियो।

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघले हालसम्म वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको आर्थिक पुनःएकीकरणका लागि गरिएका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरेको थियो। महासंघले कोशी प्रदेशका १० वटा स्थानीय तहमा रोजगारदाता तथा आप्रवासी सञ्जालका प्रतिनिधिबीच उपलब्ध रोजगारी र दक्ष जनशक्तिको अवस्थाबारे अन्तरक्रिया सम्पन्न गरेको जनाएको छ।

महासंघका अनुसार रोजगारको खोजीमा रहेका व्यक्तिहरू तथा दक्ष कामदार अभाव झेलिरहेका उद्योग प्रतिष्ठानहरूको विवरण संकलन गरी स्थानीय तहका रोजगार सूचना केन्द्रबाट प्राप्त तथ्यांकका आधारमा रोजगार मिलान तथा सहजीकरणको कामसमेत भइरहेको छ।

अन्तरक्रियाका क्रममा विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरूले दक्ष र लगनशील जनशक्तिको आवश्यकता निरन्तर रहेको बताएका थिए। प्रगति टेक्सटायलका प्रतिनिधि प्रदीप निरौलाले उद्योग क्षेत्रमा दक्ष जनशक्तिको उच्च माग रहेको उल्लेख गर्दै योग्य व्यक्तिलाई अवसर दिन उद्योगहरू सधैँ तयार रहेको बताए। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सका महेश पोखरेलले सीप विकाससँगै रोजगारी सुनिश्चित गर्न आफ्नो संस्था प्रतिबद्ध रहेको धारणा राखे।

एशियन थाई फुड्सका प्रतिनिधि शिवप्रसाद निरौलाले खाद्य उद्योग क्षेत्रमा दक्ष जनशक्तिका लागि पर्याप्त अवसर रहेको बताए। कार्यक्रममा पल्स फेसन सोलुसन, सुदर्शन सेक्युरिटी सर्भिस प्रालि तथा डेरी क्षेत्रका उद्यमीहरूले समेत रोजगारीका अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल दाहाल ले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी प्रदेश सरकारले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रम तथा योजनाबारे जानकारी गराएका थिए।

करिब ५० जना उद्योगी, व्यवसायी तथा उद्योग प्रतिष्ठानका सञ्चालक एवं व्यवस्थापकहरूको सहभागिता रहेको उक्त कार्यक्रमले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै सम्मानजनक रोजगारी तथा उद्यमशीलतासँग जोड्ने प्रयासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।